
विराटनगर । मोरङको रंगेली नगरपालिका–७ का ५२ वर्षीय रामलखन मण्डल यसपटक आफ्नो खेतमा बर्खे धानको उत्पादन ह्वात्तै घटेपछि चिन्तित छन् ।
विगतका वर्षहरूमा जस्तै उनले यसपालि पनि बजारबाट महँगोमा डीएपी र युरिया मल किनेर हाले । सिँचाइ पनि राम्रै गरे । तर, हरियो हुनुपर्ने धानका पातहरू पहेँलिएर ओइलाए । तर, उत्पादन राम्रो भएन ।
‘मल कम भएर पो हो कि भनेर थप एक बोरा युरिया छरेँ । तर, झन् धान डढेजस्तो भयो,’ मण्डलले आफ्नो समस्या सुनाए । उनलाई आफ्नो खेतको माटो कुन अवस्थामा छ भन्ने पत्तै छैन । माटो परीक्षण गर्नुपर्छ भन्ने सुनेका त छन्, तर कहाँ जाने, कसरी जंचाउने र त्यसले के फाइदा गर्छ भन्ने बारेमा उनी पूर्ण रूपमा अनभिज्ञ छन् ।
यो समस्या रामलखनको मात्र होइन । कोशी प्रदेशका लाखौं किसानको साझा समस्या हो । जमिनको स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्दा कतिपयलाई त हाँसो लाग्छ । माटोको स्वास्थ्य अवस्था कस्तो छ भनेर नजाँची जथाभावी रासायनिक मलको प्रयोग गर्दा कोशी प्रदेशको माटो तीव्र गतिमा बिरामी बन्दै गएको छ ।
माटो मात्रै बिरामी छैन । उत्पादनमा पनि ह्रास आइरहेको छ । यसको मुख्य कारण माटोमा बढ्दो अम्लीयपन हो । प्रदेशस्तरीय माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीले संकलन गरेको पछिल्लो विस्तृत तथ्यांक निकै डरलाग्दो छ । प्रयोगशालाले प्रदेशका १४ वटै जिल्लाबाट संकलन गरेका ९ हजार ७ सय १२ वटा माटोको नमुना परीक्षण गर्दा ८५.५ प्रतिशत माटोमा अत्यधिक अम्लीयपन भेटिएको छ ।
माटोको पीएच मान ७ लाई तटस्थ मानिन्छ । ७ भन्दा कम भए अम्लीय र बढी भए क्षारीय मानिन्छ । कोशी प्रदेशको अधिकांश भू–भागमा यो सूचक निकै तल झरिसकेको छ ।
जिल्लागत रूपमा हेर्ने हो भने हिमाली र पहाडी जिल्लाको अवस्था झन् भयावह छ । सोलुखुम्बुमा ९७.३ प्रतिशत, ताप्लेजुङमा ९६ प्रतिशत, भोजपुरमा ८९ प्रतिशत छन । तराईका जिल्ला मोरङमा ७७.७ प्रतिशत, सुनसरीमा ६८.७ प्रतिशत र झापामा ९३.३ प्रतिशत माटो अम्लीय रहेको देखिन्छ । प्रयोगशालाको तथ्यांक अनुसार प्रदेशभरि मात्र १३.१ प्रतिशत माटो तटस्थ (खेतीका लागि उपयुक्त) र १.४ प्रतिशत माटो क्षारीय रहेको छ ।
कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत माटो तथा मल परीक्षण प्रयोगशाला सुनसरीको झुम्कामा अवस्थित छ । प्रादेशिक स्तरमा यो नै यहाँको मुख्य सरकारी प्रयोगशाला हो । कोशी प्रदेशका विभिन्न जिल्लाहरू मोरङ, झापा, इलाम, धनकुटा, उदयपुरमा रहेका कृषि ज्ञान केन्द्रहरूले समय–समयमा स्थानीयस्तरमै माटो परीक्षण शिविरहरू सञ्चालन गर्छन् ।
भौतिक पूर्वाधार र प्रविधिको हिसाबले यो प्रयोगशालाले पछिल्लो समय आफूलाई डिजिटल मार्गमा अगाडि बढाएको छ । अहिले डिजिटल स्वायल म्यापिङ (माटोको डिजिटल नक्सांकन) सफ्टवेयर र प्रविधिको प्रयोग हुन थालेको छ ।
किसानले बुझाएको माटोको रिपोर्ट सफ्टवेयरबाटै तयार गरी ह्वाटसएप वा इमेलमार्फत पठाउने व्यवस्था सुरु गरिएको छ । जसले गर्दा विकट पहाडी जिल्लाका किसानले रिपोर्ट लिनकै लागि झुम्का धाइरहनु पर्दैन । प्रयोगशालाले किसानलाई माटो स्वास्थ्य कार्ड समेत वितरण गर्न थालेको छ ।
तर, प्रविधि हुँदाहुँदै पनि जनशक्ति र पहुँचको हिसाबले यो एउटै प्रयोगशाला प्रदेशका १४ वटै जिल्लाका लाखौं किसानका लागि पर्याप्त छैन । गाउँ–गाउँमा सजिलै माटो जाँच गर्ने संयन्त्र नहुँदा किसानहरू सरकारी प्रयोगशालासम्म पुग्न सकेका छैनन् ।
प्रयोगशाला आधुनिक बन्दै गए पनि त्यहाँ आफैँ माटो बोकेर आउने किसानको संख्या निकै न्यून छ । प्रयोगशालामा परीक्षण गरिएका अधिकांश नमुनाहरू कृषि ज्ञान केन्द्र, स्थानीय तह वा सरकारी टोलीले स्थलगत शिविर सञ्चालन गरेर ल्याएका हुन् । किसानहरू स्वस्फूर्त रूपमा माटो जाँच्न आउने क्रम अझै व्यवस्थित हुन सकेको छैन ।
यस विषयमा माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काका सहायक माटोविज्ञ ओमप्रकाश साह भन्छन्, ‘कोशी प्रदेशको तराईका जिल्लामा किसानले बढी मात्रामा धान खेती लगाउछन् । धान खेतीमा माटोको अम्लीयपनको असर तुरुन्तै बाहिर देखिँदैन । जसले गर्दा किसानले आफ्नो माटो बिग्रिएको पत्तै पाएका छैनन् । तर, यसको असर दीर्घकालीन रूपमा माटोको उर्वराशक्ति नष्ट गर्ने गरी परिरहेको छ । बेलैमा माटो सुधारका लागि देशव्यापी अभियान नचलाएमा भविष्यमा उत्पादन घटेर किसानले ठूलो क्षति बेहोर्नुपर्ने निश्चित छ ।’
कोशी प्रदेश सरकारले माटोको डिजिटल नक्सांकनका लागि डिजिटल स्वायल म्याप व्यवस्थापन कार्यविधि, २०८१ लागू गरेको छ । यसका साथै प्रयोगशालाले विभिन्न स्थानीय तहसँग मिलेर माटो परीक्षण शिविर सञ्चालन गर्दै आएको छ ।
अम्लीयपन सुधार गर्न माटोमा कृषि चुनको प्रयोग अनिवार्य हुने साहले बताए । केही वर्ष अघिसम्म प्रदेश सरकारले किसानलाई कृषि चुन खरिदमा अनुदान दिने कार्यक्रम राखेको थियो । तर, बजेटको निरन्तरता र प्रभावकारी वितरण प्रणाली नहुँदा अहिले धेरै किसान यो सुविधाबाट वञ्चित छन् । सरकारले सचेतना पुस्तिका र रेडियो कार्यक्रममार्फत प्रचार गरे पनि भुइँतहका किसानसम्म त्यसको सन्देश पुग्न सकेको छैन ।
माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काका प्रमुख एवं वरिष्ठ माटोविज्ञ दिगम्बर यादवका अनुसार माटोमा अम्लीयपन बढ्नु भनेको बिरुवाले हालेको मल सोस्न नसक्नु हो । ‘हामीले किसानलाई सचेत गराउन र अम्लीयपन बढी भएको माटोमा कृषि चुनको प्रयोग बढाउन स्थानीय तहमार्फत सचेतना कार्यक्रमहरू गरिरहेका छौं । माटो परीक्षणको दायरा बढाउन डिजिटल प्रविधि त भित्र्यायौं । तर, जबसम्म किसान आफैँ सजग भएर रासायनिक मलको सन्तुलित प्रयोग र प्रांगारिक मलको प्रयोग बढाउँदैनन् । तबसम्म जमिन जोगाउन गाह्रो हुन्छ,’ उनले भने ।
माटोको स्वास्थ्य बिग्रदा देशको खाद्य सुरक्षा नै संकटमा पर्न सक्ने विज्ञहरु बताउँछन् । ‘कोशी प्रदेश सरकारले झुम्कास्थित प्रयोगशालालाई मात्र सक्रिय बनाएर पुग्दैन । स्थानीय पालिकाहरूको समन्वयमा हरेक वडामा सजिलै माटो परीक्षण गर्न सक्ने मिनी ल्याबको व्यवस्था गर्न जरुरी छ,’ उनीहरु भन्छन् । उनीहरुका अुनसार रासायनिक मलमा मात्र निर्भर नभई गोठेमल र कम्पोष्ट मलको प्रयोग बढाउन तथा माटो जँचाएर मात्र खेती गर्ने बानी बसाल्न किसानलाई प्रोत्साहन र अनुदान दुवैको खाँचो देखिन्छ ।

























