
विराटनगर । शिक्षा क्षेत्रमा तीन दशक लामो अनुभव बोकेको विराटनगरस्थित न्यु एभरेस्ट एजुकेसन फाउन्डेसनले उच्च शिक्षामा नयाँ फड्को मारेको छ । फाउन्डेसनले काठमाडौं विश्वविद्यालय (केयू) बाट सम्बन्धन प्राप्त गरी ‘न्यु एभरेस्ट कलेज’ मार्फत ‘ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी’ (बीआइटी) कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत कलेजले आगामी शैक्षिक सत्रदेखि नै पठनपाठन सुरु गर्ने औपचारिक घोषणा गरेको छ । उच्च शिक्षाका लागि काठमाडौं वा बिदेसिनुपर्ने विद्यार्थीहरूको बाध्यतालाई अन्त्य गर्दै स्थानीय स्तरमै विश्व स्तरीय प्रविधि शिक्षा उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम ल्याइएको कलेजका प्रबन्ध निर्देशक टीकाराम पुरीले जानकारी दिए ।
प्रबन्ध निर्देशक पुरीले अन्तर्राष्ट्रिय स्तरको भौतिक पूर्वाधार र प्रविधिमैत्री वातावरणमा पठनपाठन हुने बताए । विगत ३० वर्षदेखि विद्यालय तहमा उत्कृष्ट नतिजा दिँदै आएको एभरेस्टले अब सूचना प्रविधिको युग सुहाउँदो दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको उनले प्रस्ट्याए ।
उनले भने, ‘अहिलेको प्रविधिको युगमा उच्च माग रहेको यो विषय अध्यापन गराएर दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य हो । यहाँ बीआइटी पढ्ने विद्यार्थीका लागि ‘जब प्लेसमेन्ट’को समेत व्यवस्था मिलाइने छ । हाम्रा विद्यार्थीले कमाउँदै पढ्न सक्नुपर्छ भनेर तेस्रो समेष्टरपछि ‘जब प्लेसमेन्ट’को समेत व्यवस्था हुनेछ । केयूले काठमाडौं बाहिर बीआइटी अध्यापनको अनुमति हामीलाई पहिलो पटक दिएको हो ।’
आठ सेमेस्टर अर्थात् चार वर्षे अवधिको यस बीआइटी कार्यक्रममा वर्तमान विश्व बजारमा अत्यधिक माग रहेका विषयहरू सफ्टवेयर डेभलपमेन्ट र मोबाइल एप्लिकेसन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डेटा एनालिटिक्स तथा साइबर सुरक्षा र क्लाउड कम्प्युटिङ समावेश गरिएको छ ।
काठमाडौं विश्वविद्यालयको पाठ्यक्रमअनुसार सञ्चालन हुने यस कार्यक्रममा केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नभई इन्टर्नसिप र प्रोजेक्ट वर्कलाई विशेष प्राथमिकता दिइने छ । यसबाट उत्पादित जनशक्ति बजारमा सफ्टवेयर इन्जिनियर, साइबर सुरक्षा विश्लेषक र प्रविधि उद्यमीका रूपमा स्थापित हुन सक्ने कलेजले विश्वास व्यक्त गरेको छ । साथै, यो कोर्स पूरा गरेपछि विद्यार्थीहरूले एमआईटी वा डाटा साइन्स जस्ता स्नातकोत्तर तहमा सहजै प्रवेश पाउने छन् ।
विश्वविद्यालयले यस कार्यक्रमका भर्ना आवेदन खुला गरेको छ । सोही कार्यक्रमका बीच कलेजले हालै सार्वजनिक भएको कक्षा १२ को नतिजामा उत्कृष्ट जिपिए ल्याउन सफल सात जना विद्यार्थीहरूलाई सम्मान गरेको थियो ।



















