कोशी प्रदेशमा २ अर्ब ८ करोडका आयोजना स्वीकृत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ११, बिहीबार १८:२७

विराटनगर । कोशी प्रदेश लगानी प्राधिकरणले प्रदेशको आर्थिक विकास र पूर्वाधार निर्माणका लागि चारवटा आयोजनाको लगानी स्वीकृत गरेको छ । प्राधिकरणको ३३ औं बैठकले सार्वजनिक निजी साझेदारी (पिपिपी) अवधारणा अन्तर्गत २ अर्ब ८ करोड ५३ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।

गत वर्ष आयोजना गरिएको कोशी प्रदेश लगानी सम्मेलनमा प्रस्तुत गरिएका प्रस्तावहरूमध्ये सम्भाव्यता र आवश्यकताका आधारमा यी चार आयोजनालाई अन्तिम रूप दिइएको बिहीबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताए ।

Advertisement

उनका अनुसार सुनसरीको दुहवी–४ मा ५५ करोड ९५ लाख रुपैयाँको लागतमा आधुनिक फोहोरमैला व्यवस्थापन परियोजना निर्माण हुनेछ । यसको जिम्मेवारी रिभाइभ इन्फ्राटेक एण्ड इन्भेस्टमेन्टले पाएको छ । दुहवी– ४ र १० मा ३४ करोडको लगानीमा मल्टी चेम्बर एण्ड कोल्ड स्टोरेज निर्माणको योजना स्वीकृत भएको छ । दीर्घायु एग्रो एण्ड इन्भेस्टमेन्टले निर्माण छ । उदयपुरको बेलका–९ मा रामपुर बहुउद्देशीय कृषि फार्मले २० करोडको लगानीमा फोहोरमैला व्यवस्थापनसहितको मल कारखाना र पशुपालन परियोजना सञ्चालन गर्ने योजना स्वीकृत भएको छ ।

सुनसरीको रामधुनी–७ मा रहेको रास ताल क्षेत्रको पर्यटकीय विकास र सञ्चालनका लागि अर्बान एक्सप्लोरर प्रालिको ९८ करोड ५८ लाख रुपैयाँ लगानीको अनुमति दिइएको छ । प्राधिकरणले विराटनगरको रानीदेखि बसपार्कसम्मको क्षेत्रमा पोड–वे निर्माणका लागि प्रक्रिया अघि बढाएको छ । करिब ६ अर्ब लागत अनुमान गरिएको यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न काठमाडौँ पोडवे कम्पनीलाई अनुमति दिएको छ । कोशी प्रदेशमा ६ वर्षअघि लगानी प्राधिकरण स्थापना भएको थियो । प्राधिकरणको पहलमा निर्माण भएको भेडेटार स्काइ वाक सञ्चालनमा आइसकेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.