
काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ ।
न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सम्पूर्ण मिसिल सर्वोच्च अदालतमा पेस गर्न विशेष अदालतलाई आदेश दिएको हो । रिटसँग सम्बन्धित तथ्य, प्रमाण र मुद्दाबीचको सम्बन्धको समग्र अध्ययनका लागि सक्कल मिसिल आवश्यक रहेको सर्वोच्चको ठहर छ ।
विष्णु पौडेलकी पत्नी दोमाया पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा उठाइएका विषयवस्तु र विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाबीच सम्बन्ध देखिएकाले न्यायिक निरूपणका लागि मिसिल झिकाउने आदेश गरिएको हो । आदेशअनुसार विशेष अदालतमा रहेका सम्पूर्ण कागजात, प्रमाण तथा मुद्दासँग सम्बन्धित अन्य विवरण सर्वोच्च अदालतमा पठाइनेछन् ।
ती कागजात अध्ययन गरेपछि रिट निवेदनमाथिको थप सुनुवाइ र निर्णय प्रक्रिया अघि बढाइने अदालतले जनाएको छ । अग्रवाल र भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ ।

























