
काठमाडौं । सरकारले विद्यालयहरूमा अनुशासनको नाममा विद्यार्थीको इच्छा विपरीत जबरजस्ती कपाल काट्ने वा कटाउने कार्यमा पूर्ण प्रतिबन्ध लगाएको छ । बिहीबार स्वीकृत भएको ‘शिक्षा नियमावली १० औँ संशोधन)’ मार्फत सरकारले यस्तो व्यवस्था गरेको हो ।
पछिल्लो समय विद्यालयहरूले विद्यार्थीको इच्छा विपरीत कपाल काटिदिने र त्यसले विद्यार्थीमा मानसिक तनाव सिर्जना गर्ने गरेको गुनासो बढेपछि सरकारले नियमावलीमै यस्तो प्रावधान राखेको हो ।
संशोधित नियमावलीको नियम २५ मा विद्यालय परिसर वा कक्षा कोठाभित्र विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामा नकारात्मक असर पर्ने कुनै पनि गतिविधि सञ्चालन गर्न वा गराउन नपाइने उल्लेख गरिएको छ ।
अबदेखि विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा कसैलाई पनि होच्याउन, लाञ्छित गर्न वा चरित्रमाथि प्रश्न उठाउन पाइने छैन । यस्ता क्रियाकलापलाई नियमावलीले कडा रूपमा निषेध गरेको छ ।
नयाँ व्यवस्था अनुसार, विद्यार्थीलाई अनुशासनका नाममा लामो समयसम्म घाममा वा अन्य प्रतिकूल अवस्थामा उभ्याएर दण्ड दिन पाइने छैन । विद्यार्थीको आत्मसम्मान, मर्यादा र स्वास्थ्यमा प्रतिकूल असर पुग्ने कुनै पनि कार्य गर्न रोक लगाइएको छ ।
यस्तै, शुल्क नतिरेको कारण देखाएर कुनै पनि विद्यार्थीलाई अपमानित गर्न, सार्वजनिक रूपमा लाञ्छित गर्न वा कक्षा र परीक्षामा सहभागी हुनबाट वञ्चित गर्न नपाइने व्यवस्था नियमावलीमा समेटिएको छ । विद्यालयहरूले विद्यार्थीप्रति भेदभावपूर्ण व्यवहार गर्न नपाउने कुरालाई पनि नियमावलीले स्पष्ट पारेको छ ।
सरकारको यो कदमले विद्यालयहरूमा बालमैत्री वातावरण निर्माण हुने र विद्यार्थीको आत्मसम्मानको रक्षा हुने अपेक्षा गरिएको छ ।

























