त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १९, शुक्रबार १८:२२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उनलाई विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

डा. थापा यसअघि काठमाडौं विश्वविद्यालय (केयू)का उपकुलपतिका रूपमा नेतृत्व गरिसकेका अनुभवी शिक्षाविद् हुन् । इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि तथा ऊर्जा अनुसन्धानका क्षेत्रमा उनको लामो अनुभव छ ।

उनले इन्जिनियरिङ विषयमा स्नातक तहको अध्ययन पूरा गरेपछि प्रारम्भिक चरणमा सरकारी सेवाबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए । त्यसपछि काठमाडौं विश्वविद्यालयमा उपप्राध्यापकका रूपमा प्रवेश गरेका उनी क्रमशः प्राध्यापक, सहायक डिन, कार्यकारी डिन, रजिस्ट्रार हुँदै २०७७ माघमा विश्वविद्यालयको उपकुलपति नियुक्त भएका थिए ।

शैक्षिक रूपमा मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका थापाले स्नातकोत्तर तहमा टर्बाइन रनरसम्बन्धी अध्ययन गरेका छन् । विद्यावारिधि भने उनले हाइड्रोलिक मेसिनमा बालुवाका कणका कारण हुने घिसावट (इरोजन) सम्बन्धी विषयमा गरेका हुन् । जलविद्युत् प्रविधि र ऊर्जा अनुसन्धानमा उनले गरेका अध्ययन तथा अनुसन्धानलाई यस क्षेत्रको महत्वपूर्ण योगदानका रूपमा लिइन्छ ।

विद्यालय तहको शिक्षा उनले कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलबाट पूरा गरेका हुन् भने प्रवीणता प्रमाणपत्र तहको अध्ययन अमृत साइन्स क्याम्पस (अस्कल) बाट गरेका थिए । उच्च शिक्षामा लामो समयदेखि अध्यापन, अनुसन्धान र विश्वविद्यालय प्रशासनमा सक्रिय रहेका डा. थापाको नियुक्तिसँगै त्रिभुवन विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक सुधारमा नयाँ अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.