बाढी र मनसुनः त्रासमा मोरङका बस्ती

मुलुकी खबर
एन्जु शिवाकोटी
clock२०८३ असार २४, बुधबार १६:५८

विराटनगर । मनसुन सक्रिय भएसँगै मोरङका खोला किनारका बस्तीमा फेरि बाढीको चिन्ता बढ्न थालेको छ । गत वर्षको बाढीले ठूलो क्षति बेहोरेका स्थानीय यस वर्ष पनि त्यही अवस्था दोहोरिने हो कि भन्ने डरमा छन् । यता स्थानीय तह र जिल्ला प्रशासनले भने अघिल्लो वर्षको अनुभवबाट पाठ सिक्दै पूर्वतयारीलाई प्राथमिकता दिएको बताएका छन् ।

जहदा गाउँपालिका–७ का सुकदेव ऋषिदेवलाई वर्षा सुरु हुनासाथ गत वर्षको पीडा सम्झना आउछ । ‘आकाशमा बादल लाग्न थालेपछि मुटु काम्न थाल्छ । गत वर्ष बाढीले घरभित्रै पानी पस्यो, अन्नपात सबै सडेर गयो । दुई रात चाउचाउ पानी मात्र खाएर बस्नुपर्‍यो । यसपालि पनि कतिबेला घर छोड्नुपर्ने हो भन्ने चिन्ता छ,’ उनले भने । सुकदेवजस्तै बक्राहा, चिसाङ, लोहन्द्रा, केसलिया र सिंघिया खोला आसपासका हजारौं परिवार अहिले पनि जोखिममा छन् ।

गत वर्षको मनसुनले मोरङका विभिन्न क्षेत्रमा बाढी र डुबान निम्त्याएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार १ हजार २ सयभन्दा बढी परिवार प्रभावित भएका थिए भने करिब ३५० परिवार घर छाडेर विद्यालय र सार्वजनिक भवनमा बस्न बाध्य भएका थिए ।

कृषि क्षेत्रमा पनि ठूलो क्षति पुगेको थियो । जहदा, कटहरी र धनपालथानमा ४ सय बिघाभन्दा बढी धानखेत बगेको वा बालुवाले पुरिएको थियो । बाढीका कारण तीन जनाले ज्यानसमेत गुमाएका थिए ।

बाढी आएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय तहले उद्धार अभियान सञ्चालन गरेका थिए । करिब ८ सय जनालाई सुरक्षित स्थानमा सारिएको थियो । प्रभावितलाई चिउरा, चाउचाउ, त्रिपाल, मट्टितेललगायत राहत सामग्री वितरण गरिएको थियो ।

पूर्वतयारी कमजोर हुँदा अघिल्लो वर्ष धेरै क्षति भएको स्थानीय बताउँछन् । कटहरीका रमेश कामत भन्छन्, ‘यदि समयमै सूचना र तटबन्धको व्यवस्था भएको भए अन्नपात र घरायसी सामान जोगाउन सकिन्थ्यो ।’

यस वर्ष मोरङका स्थानीय तहले विपद् व्यवस्थापनका लागि बजेट बढाउनुका साथै पूर्वतयारीमा जोड दिएका छन् । विराटनगरका सिंघिया र केसलिया नदी आसपासका बस्ती तथा होचा भू–भाग सधैँ डुबानको जोखिममा रहन्छन् । विराटनगर महानगरले विपद् व्यवस्थापनका लागि १ करोड २० लाख रुपैयाँ छुट्ट्याएको छ ।

महानगरले मुख्य नाला र ढल सफाइ, जेसिबी तयारी अवस्थामा राख्ने, उच्च जोखिम भएका १० स्थानमा पूर्वसूचना प्रणाली जडान गर्ने तथा नगर प्रहरीलाई रबर बोट र लाइफ ज्याकेटसहित २४ घण्टा तयारी अवस्थामा राख्ने जनाएको छ । महानगरको विपद् व्यवस्थापन शाखाका प्रमुख राजेन्द्र प्रधानका अनुसार यस वर्ष मनसुनअघि नै ढल र नालाको सफाइ सम्पन्न गरिएको छ । सफाइले बजार क्षेत्रमा डुबान कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

सबैभन्दा बढी डुबान हुने क्षेत्रमध्ये पर्ने जहदा गाउँपालिकाले विपद् कोषमा ३० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले पाल, कम्बल र खाद्यान्न आपूर्तिकर्तासँग अग्रिम सम्झौता गरेको छ । बक्राहा र लोहन्द्रा नदीका जोखिमयुक्त स्थानमा बाँस र बालुवाका बोरा प्रयोग गरी अस्थायी तटबन्ध निर्माण गरिएको छ ।

साथै, पाँचवटा सामुदायिक भवनलाई अस्थायी आश्रयस्थलका रूपमा तयारी अवस्थामा राखिएको छ । गाउँपालिकाका विपद् फोकल पर्सन सबिर हुसैनका अनुसार गत वर्ष बढी प्रभावित भएका वडा नम्बर १ र ७ लाई विशेष प्राथमिकतामा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रससँग समन्वय गरेर एकीकृत विपद् प्रतिकार्य योजना तयार गरेको छ । यस वर्ष जिल्लाभर करिब ५ सय ५० जना उद्धारकर्मी तयारी अवस्थामा राखिएका छन् ।

स्थानीय तहहरूले संयुक्त रूपमा करिब ३ करोड रुपैयाँ विपद् व्यवस्थापनमा विनियोजन गरेका छन् । नेपाल रेडक्रससँग १ हजार ५ सय थान त्रिपाल तथा टेन्ट मौज्दात छन् भने सशस्त्र प्रहरीसँग मोटरयुक्त र रबरसहित ६ वटा उद्धार बोट तयारी अवस्थामा छन् ।

पूर्वतयारी बढे पनि नदी कटान, कमजोर तटबन्ध, होचा बस्ती र अनियन्त्रित वर्षा मोरङका मुख्य चुनौती हुन् । स्थानीयको अपेक्षा उद्धारभन्दा पनि जोखिम कम गर्ने दीर्घकालीन योजनामा छ ।

मनसुनको प्रभाव बढ्दै जाँदा सरकारी तयारी र स्थानीयको सतर्कता दुवै उत्तिकै आवश्यक देखिने सरोकारवाला बताउँछन् । समयमै सूचना, सुरक्षित स्थानमा स्थानान्तरण र प्रभावकारी समन्वय हुन सके गत वर्षजस्तो क्षति दोहोरिन नदिन सकिने विश्वास सम्बन्धित निकायले व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.