भारत, चीन र विश्व बैंकको सहयोग प्रस्ताव, ‘के चाहिन्छ, सूची पठाउनुस्’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १७:२५

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नेपालमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि छिमेकी मुलुक भारत र चीनसँगै विश्व बैंकले तत्काल सहयोगको प्रतिबद्धता जनाएका छन् ।

तीनै पक्षबाट सहयोगको प्रस्ताव आएपछि सरकारले आवश्यकताका आधारमा सहायता परिचालन गर्ने तयारी थालेको छ । बाढीपहिरोको क्षतिको खबर सार्वजनिक भएलगत्तै विश्व बैंकले नेपाललाई आपतकालीन सहयोग उपलब्ध गराउने संकेत गरेको हो ।

Advertisement

नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले बिहान १०ः३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग टेलिफोन संवाद गर्दै विभिन्न स्रोतबाट करिब २५ अर्ब रुपैयाँ बराबरको आपतकालीन सहयोग जुटाउन सकिने जानकारी गराएका थिए । दक्षिणी छिमेकी भारतले भने बाढीपीडितका लागि तत्काल आवश्यक पर्ने राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको छ ।

भारतबाट उपलब्ध हुने सामग्री तत्काल काठमाडौं ल्याउने तयारी भइरहेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका छन् । सरकारले राहत सामग्रीको आवश्यकता पहिचान गरी भारतसमक्ष सूची पठाउने तयारी गरिरहेको छ । उद्धार तथा राहतका लागि आवश्यक पर्ने सामग्री, उपकरण र अन्य सहयोगलाई प्राथमिकताका आधारमा व्यवस्थापन गर्ने सरकारको तयारी छ ।

उत्तरी छिमेकी चीनले पनि नेपाललाई तत्काल नगद सहयोग उपलब्ध गराउने भएको छ । सहयोग रकम पठाउने प्रक्रिया अघि बढाउन चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारसँग समन्वय गरेका छन् ।

भारत, चीन र विश्व बैंकबाट सहयोगको प्रस्ताव आएपछि अर्थमन्त्री वाग्लेले तीनै पक्षसँग आवश्यक समन्वय भइरहेको बताएका छन् । सरकारले प्राप्त हुने सहयोगलाई प्रभावित क्षेत्रको वास्तविक आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गर्ने तयारी गरेको छ ।

यसैबीच, मन्त्रिपरिषद्को बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा भएसँगै प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्निर्माणका लागि घरेलु तथा अन्तर्राष्ट्रिय स्रोतबाट सहयोग जुटाउने प्रक्रिया सहज भएको छ ।

यता, नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएकाहरूको खोज तथा उद्धारका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि निर्देशन दिएका छन् । चिनियाँ समाचार एजेन्सी सिन्ह्वालाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएअनुसार राष्ट्रपति सीले उपलब्ध सबै क्षमता प्रयोग गरेर खोज तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका हुन् ।

बाढीपहिरोका कारण चीनको दक्षिण–पश्चिमी क्षेत्र सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत केरुङ नाकासहित सीमावर्ती क्षेत्रमा समेत क्षति पुगेको बताइएको छ । चिनियाँ बन्दरगाह क्षेत्रमा पनि जनधनको क्षति भएको विवरण सार्वजनिक भएको छ ।

नेपालमा विपद्को क्षति बढिरहेका बेला एकैपटक भारत, चीन र विश्व बैंकबाट सहयोगको प्रतिबद्धता आउनुलाई राहत तथा पुनर्निर्माणका लागि महत्वपूर्ण सहयोगका रूपमा हेरिएको छ । अब सरकारले प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरी कुन सहयोग कहाँ र कसरी परिचालन गर्ने भन्ने योजना बनाउनुपर्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया
बाढीपछि ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी र बैंकका २६ कर्मचारी सम्पर्कविहीन
इटहरीका डीएसपी सुवास हमाल सर्वोत्कृष्ट प्रहरी
बाढी प्रभावितको उद्धारमा जुट्न कांग्रेस र एमालेको आग्रह
बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् संकटग्रस्त घोषणा, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारका १० निर्णय
भारत, चीन र विश्व बैंकको सहयोग प्रस्ताव, ‘के चाहिन्छ, सूची पठाउनुस्’
नेपाली कांग्रेसका सबै कार्यक्रम स्थगित, राहत र उद्धारमा केन्द्रित हुने निर्णय
नेपाली कांग्रेसका सबै कार्यक्रम स्थगित, राहत र उद्धारमा केन्द्रित हुने निर्णय
बाढीपीडितको उद्धारमा राज्यका सबै संयन्त्र परिचालन गर्न ओलीको आग्रह
रसुवाका सबै स्थानीय तह संकटग्रस्त क्षेत्र घोषित
बाढीमा मृत्यु हुनेको संख्या २० भन्दा बढी पुग्यो, घाइतेहरुको उपचार हुँदै
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
झापाका युवाले दिए प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×