बाढीपीडितलाई साढे दुई करोड, उद्धारलाई तीव्र बनाउन सांसदहरुको माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १४:३९

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रको उद्धार, खोजी तथा राहतका लागि सरकारले साढे दुई करोड उपलब्ध गराउने भएको छ ।

रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय सरकारले गरेको हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल खर्च गर्ने गरी तीन जिल्लाका लागि कुल २ करोड ५० लाख रुपैयाँ पठाउने निर्णय गरेको हो ।

Advertisement

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार आपत्कालीन अवस्थालाई सम्बोधन गर्न उक्त रकम परिचालन गरिनेछ । तिब्बतको जिलोङ काउन्टीस्थित डोङलिन छाङ्गो रिभरमा हिमपहिरोपछि नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा आएको बाढीले नेपालतर्फ रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्‍याएको हो ।

रसुवाको टिमुरे, स्याफ्रुबेंसी र रसुवागढी क्षेत्रमा बाढीबाट ठूलो जनधनको क्षति भएको प्रारम्भिक जानकारी आएको छ । बाढीले बस्ती, पुल तथा जलविद्युत् आयोजनालगायतका संरचनामा समेत क्षति पुर्‍याएको छ ।

घटनापछि सुरक्षा निकायसहित राज्यका विभिन्न संयन्त्र परिचालन गरी खोजी, उद्धार, उपचार र राहतको काम अघि बढाइएको छ । सम्भावित जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा प्रभावित क्षेत्रमा आवश्यक मानवीय सहायता पुर्‍याउने कामलाई प्राथमिकता दिइएको छ ।

यसैबीच, प्रतिनिधिसभा बैठकमा सांसदहरूले बाढीको अवस्थालाई गम्भीर विपद्का रूपमा लिएर उद्धार तथा राहतलाई तीव्र बनाउन सरकारसँग माग गरेका छन् । सांसद मोहन आचार्यले बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार र राहतमा जुट्न सरकारको ध्यानाकर्षण गराए । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी र बसुमाया तामाङले पनि प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतमा सरकार गम्भीर हुनुपर्ने बताए ।

सरकारले बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । मन्त्रिपरिषद्ले तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

बाढीको जोखिम न्यूनीकरणका लागि जल तथा मौसम विज्ञान विभागले बुधबार बिहान ९ः०५ बजे चितवनसम्मका सम्भावित प्रभावित क्षेत्रमा एसएमएसमार्फत सतर्कता सूचना पठाएको थियो । बाढीको अवस्था प्रत्येक आधा घण्टामा निगरानी गरी सूचना जारी गर्ने व्यवस्था मिलाइएको छ । बाढीका कारण विभागको एउटा स्टेसनसमेत बगेको जनाइएको छ ।

बाढी मलेखु पार गरिसकेको छ भने मुग्लिङ बजारसहित त्रिशूली नदी करिडोरमा समेत प्रभाव पर्न सक्ने भएकाले ती क्षेत्रलाई उच्च निगरानीमा राखिएको छ । तिब्बततर्फको अस्थायी बाँध फुटिसकेकाले माथिल्लो क्षेत्रमा बाढीको सतह घट्दै गएको र थप जोखिम क्रमशः कम हुने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×