सुनसरीको देवानगन्जबाट चार सय १४ किलो गाँजा बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १६:३३

विराटनगर । सुनसरीको देवानगन्जबाट प्रहरीले बुधबार बिहान ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीबाट करिब चार सय १४ किलो बेवारिसे गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

गाँजा लुकाइछिपाइ राखिएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवानगन्जबाट खटिएको टोलीले चार सय १३ किलो नौ सय ८० ग्राम गाँजा बिहान ९ बजेतिर बरामद गरेको हो । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार मध्यहर्षाहीस्थित रामजानकी मन्दिर पछाडि रहेको गाईगोठमा लुकाएर राखेको बेवारिसे अवस्थामा गाँजा फेला परेको थियो ।

Advertisement

कालो प्लाष्टिकले बेरेर सेतो बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा भेटिएको उनले बताए । उक्त गोठको पछाडि बेवारिसे अवस्थामा छाडिएको बीआर ३८ आर ०५५८ नम्बरको मोटरसाइकलसमेत फेला परेको छ ।

भारतीय मोटरसाइकलसहित गाँजा बरामद गरेर जिल्ला प्रहरी कार्यालयमा लगिएको जानकारी डीएसपी खड्काले दिए । उनका अनुसार गाँजा कसले र कहाँबाट ल्याएर भण्डारण गरेको हो भन्ने यकिन भइसकेको छैन ।

पूर्वी पहाडी जिल्लाबाट ल्याएर भारततर्फ लैजानलाई गाँजा भण्डारण गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । गाँजा ओसारपसार एवं भण्डारणमा संलग्नको खोजी तीव्र पारेर थप अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×