सुकुम्वासी होल्डिङ सेन्टर डुबानमा, धमाधम उद्धार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २७, शनिबार ०८:१३

काठमाडौं । लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्वासी होल्डिङ सेन्टर डुबानमा परेको छ ।

डुबानपछि संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका ५४ जनालाई उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरको स्मृति भवनमा स्थानान्तरण गरेको छ । बाढी पसेका ठाउँमा धमाधम उद्धार भइरहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहानका राति डुबानको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली र नेपाल प्रहरी परिचालन गरिएको थियो । होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ६ जना आफन्त वा नजिकैको होस्टलमा बस्न गएका छन् ।

अन्य ९४ जनाले अन्यत्र जान अस्वीकार गरेपछि पानी नपसेको सुरक्षित स्थानमै राखिएको प्राधिकरणले जनाएको छ । डुबानपीडित केहीले रातभर पानीमा बस्नु परेको र समयमै पर्याप्त सहयोग नपाएको गुनासो गरेका छन् ।

यसैबीच, बागमती नदीमा बहाव बढिरहेकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.