दमकमा पत्नीको हत्यापछि आत्महत्या

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार १७:०२

झापा । झापाको दमकमा पति–पत्नीबीचको घरायसी विवादले दुःखद घटना निम्त्याएको छ । पतिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेर आफूले पनि झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

झापा प्रहरीका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार बुधबार दिउँसो करिब २ बजेतिर दमक नगरपालिका–१ सिरपाली चोकका ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया पत्नी विजयकुमारी दर्जीबीच घरायसी कुरामा विवाद भएको थियो । विवाद बढ्दै गएपछि पति धनबहादुरले खुकुरी प्रहार गर्दा पत्नी विजयकुमारीको मृत्यु भएको हो । खुकुरी प्रहारबाट उनको टाउको र बाँया हातमा गम्भीर चोट लागेको थियो ।

Advertisement

घटनापछि धनबहादुर घरकै अर्को कोठामा सिलिङ पंखामा सलको पासो लगाएर झुन्डिउको अवस्थामा फेला परेका थिए । बुवा झुन्डिरहेको छोरी प्रियंका दर्जीले देखेपछि पासो काटेर तल झारेकी थिइन् ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको इन्स्पेक्टर प्रमोद खड्का नेतृत्वको टोलीले दुवै जनालाई उद्धार गरी उपचारका लागि दमक अस्पताल पुर्‍याएको थियो । प्रहरीका अनुसार अपराह्न करिब ३ः३० बजेतिर चिकित्सकले धनबहादुर र विजयकुमारी दुवैलाई मृत घोषणा गरेका थिए ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै शव पोस्टमार्टमका लागि दमक अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । डीएसपी अवाले प्राम्भिक अनुसन्धानबाट खुुकुरी प्रहार गरेर पत्नीको हत्यापछि पतिले पनि आत्महत्या गरेको पत्ता लागेको छ । विस्तृत कुरा अनुसन्धानपछि खुल्ने उनले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा दम्पतीबीच विगतदेखि नै बारम्बार घरायसी झगडा हुने गरेको खुलेको प्रहरीले जनाएको छ । घटनाका बारेमा इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेत नेतृत्वको टोलीले विस्तृत अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×