निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार १७:४०

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको ३ प्रतिशत समता कर हटाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कर फिर्ता लिने औपचारिक निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार शिक्षा र स्वास्थ्य क्षेत्रमा समता कर तत्काल कार्यान्वयन गर्दा सेवाग्राहीमाथि थप आर्थिक भार पर्ने र जनस्तरबाट व्यापक असन्तुष्टि आएको निष्कर्षपछि सरकार यो निर्णयमा पुगेको हो । यसअघि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जालमार्फत निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने घोषणा गरेका थिए । मन्त्रिपरिषद्को निर्णयसँगै उक्त घोषणा औपचारिक रूपमा कार्यान्वयनमा आएको छ ।

Advertisement

प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क नलागू गर्ने निर्णय गरिएको बताएका थिए । सरकार जनताको अपेक्षा र विश्वासअनुसार सञ्चालन भइरहेको उल्लेख गर्दै उनले नागरिकलाई थप आर्थिक बोझ नपर्ने वातावरण बनाउन यो कदम चालिएको उल्लेख गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नागरिकबाट प्राप्त सुझाव, गुनासा र प्रतिक्रियालाई ध्यानमा राख्दै समता कर हटाउने निर्णय गरिएको हो । सरकारले कर फिर्ता लिए पनि विपन्न तथा आर्थिक रूपमा कमजोर वर्गका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने नीति भने यथावत् रहने जनाएको छ ।

त्यसअनुसार निजी अस्पतालले कम्तीमा १० प्रतिशत शय्या र निजी क्याम्पस तथा विश्वविद्यालयले १० प्रतिशत सिट पारदर्शी र न्यायोचित ढंगले उपलब्ध गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरिने सरकारको प्रतिबद्धता छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×