
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा एमबीएसको प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित छानबिन समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्रिवि केन्द्रीय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले व्यवस्थापन संकायका डिन र परीक्षा हेर्ने सहायक डिनको राजीनामा माग गरेको छ ।
त्रिवि स्ववियु सभापति दीपकराज जोशीले घटनाको नैतिक जिम्मेवारी लिँदै उनीहरूले तत्काल पद छाड्नुपर्ने बताए । परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमामाथि सम्झौता हुन नसक्ने भन्दै उनले दुई दिनभित्र दोषीलाई कारबाही गर्न माग गरे ।
डिन कार्यालय स्वयं निष्पक्ष नरहेको आरोप लगाउँदै जोशीले भने, ‘डिन कार्यालय आफैँ आशंकाको घेरामा रहेका बेला उसैले बनाएको समितिले गर्ने छानबिनमा विश्वास गर्न सकिँदैन । यसले विश्वसनीयतामाथि नै गम्भीर प्रश्न खडा गरेको छ, त्यसैले नैतिकताका आधारमा सम्बन्धित अधिकारीहरूले राजीनामा दिनैपर्छ ।’
यसअघि त्रिवि व्यवस्थापन संकाय डिनको कार्यालय, परीक्षा सञ्चालन समितिले मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएको घटनाको छानबिन गर्न आइतबार बिहान तीन सदस्यीय समिति गठन गरेको थियो ।
उक्त छानबिन समितिको संयोजकमा त्रिवि केन्द्रीय विभागका प्रा. डा. अच्युत ज्ञवाली छन् भने सदस्यहरूमा केन्द्रीय अनुगमन निर्देशनालयका उपनिर्देशक पुष्कर रैखला र केन्द्रीय परीक्षा समितिका सदस्य महेशराज ओझा छन् । समितिलाई सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न सात दिनको समय दिइएको सहायक डिन डा. भरत राईले जानकारी दिए ।

























