कोशीमा सरकार फेर्ने सकस

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १८:१९

विराटनगर। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध चिसिएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पद सङ्कटमा परेको छ। अध्यक्ष ओलीले राजीनामा दिन दिएको निर्देशन मुख्यमन्त्री कार्कीले अस्वीकार गरेका छन्।

ओलीले तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने म्यान्डेटसहित सचिव शेरधन राईलाई विराटनगर पठाएका थिए। तर, मुख्यमन्त्री कार्कीले विधि र प्रक्रियाबाट निर्णय भएर आए मात्र पद छोड्ने अडान लिएका छन्। संविधानको धारा १६८ को उपधारा ५ बमोजिम दुई तिहाइ बहुमतबाट बनेको सरकार भएकाले सजिलै नढल्ने उनको भनाइ छ।

Advertisement

कार्कीले राजीनामा नदिएपछि ओली पक्षका सांसदहरूले संसदीय दलमा उनीविरुद्ध हस्ताक्षर संकलन थालेका छन्। यद्यपि दलको नेता फेर्न दुई तिहाइ बहुमत चाहिने र ओली पक्षसँग त्यो संख्या नपुग्ने बताइएको छ। अर्कातिर, संविधान अनुसार विश्वासको मत लिएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने भएकाले असोज ३ गतेअघि हटाउन संवैधानिक जटिलता छ।

सरकार ढाल्न एमालेलाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को साथ आवश्यक पर्छ। तर नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेको आन्तरिक विवादमा नजोडिने स्पष्ट पारेका छन्। ओलीले सांसदहरूलाई फोन गरेर मन्त्री पदको आश्वासन दिँदै आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् भने पूर्वमुख्यमन्त्री राईले केही दिनभित्रै पार्टीको निर्णय अनुसार नयाँ सरकार गठन हुने दाबी गरेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.