काठमाडौंको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २२, शुक्रबार ०९:३४
काठमाडौंको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने भएका छन् । फागुन २१ को चुनावअघि स्वास्थ्योपचारका लागि विदेश गएका देउवा लामो समयको विदेश बसाइपछि नेपाल फर्कन लागेका हुन् ।

देउवाको स्वदेश फिर्तीलाई पार्टीको आन्तरिक राजनीतिका दृष्टिले निकै अर्थपूर्ण मानिएको छ । विशेष महाधिवेशनको विपक्षमा रहेका पार्टीका नेताहरूले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा एक ‘राष्ट्रिय भेला’ आयोजना गरेका छन् । सोही भेलालाई मुख्य सम्बोधन गर्ने गरी देउवा फर्कन लागेका हुन् ।

Advertisement

स्वास्थ्योपचारका लागि देउवा दम्पती चुनावअघि नै सिंगापुर गएका थिए । सिंगापुरमा उपचार गराएपछि उनीहरू केही समयका लागि हङकङ पुगेका थिए । केही समय हङकङमा बसेर पुनः सिंगापुर फर्किएका देउवा अहिले त्यतैबाट नेपाल आउन लागेका हुन् ।

पार्टीभित्र विशेष महाधिवेशनको माग उठिरहेका बेला देउवा पक्षीय मानिने र विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूले आफ्नो शक्ति प्रदर्शनका लागि साउन अन्तिम साता राष्ट्रिय भेला डाकेका हुन् । उक्त भेलामा देउवाको उपस्थिति र सम्बोधनले पार्टीभित्रको आगामी रणनीति तय गर्ने अनुमान गरिएको छ ।

लामो समयको विदेश बसाइ र स्वास्थ्योपचारपछि स्वदेश फर्कन लागेका देउवाले पार्टीभित्रको वर्तमान विवाद र आगामी कार्यदिशाबारे कस्तो धारणा राख्छन् भन्ने कुरालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.