
काठमाडौं। विभिन्न प्रगतिशील तथा परिवर्तनकारी राजनीतिक शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्यका साथ साना आठ दलले ‘अग्रगामी मोर्चा’ गठन गरेका छन्। जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चा मिलेर उक्त मोर्चा गठन गरेका हुन्।
थापागाउँस्थित काठमाडौँ ब्यांक्वेटमा आयोजित कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले मोर्चाको अवधारणा पत्र सार्वजनिक गरे। अवधारणा पत्रमा लोकतान्त्रिक, प्रगतिशील, क्रान्तिकारी, श्रमिक र समावेशी राजनीतिक शक्तिहरूलाई एकताबद्ध गर्दै नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्ने प्रतिबद्धता जनाइएको छ।
त्यस्तै, सत्ताको केन्द्रीकरण, सर्वसत्तावाद र अधिनायकवादी प्रवृत्तिको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय र मानव अधिकार सुनिश्चित गर्ने लक्ष्य मोर्चाले लिएको छ। मधेसी, आदिवासी जनजाति, थारू, महिला, दलित, मुस्लिम, युवा, श्रमिक र अल्पसंख्यक लगायत पछाडि पारिएका वर्गलाई राज्यका सबै तहमा अर्थपूर्ण सहभागिता गराउन सङ्घर्ष गर्ने अवधारणा पत्रमा उल्लेख छ।
मोर्चाले पारदर्शी एवम् भ्रष्टाचारमुक्त शासन प्रणाली, स्वतन्त्र न्यायपालिका, सक्षम सार्वजनिक प्रशासन र सर्वसुलभ शिक्षा तथा स्वास्थ्य सेवाको विकासलाई प्राथमिकतामा राखेको छ। आर्थिक समृद्धि र दिगो विकासका माध्यमबाट समतामूलक समाज निर्माण गर्ने घोषणा पत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमतका डा. सीके राउत, आजपाका प्रभु साह, नाउपाका रेशमलाल चौधरी, प्रलोपाका सन्तोष परियार, नेससपाका रिजवान अन्सारी, बहुजनका डा. हरिनन्दन कुमार रञ्जन र खुम्बुवानका रामकुमार राईले हस्ताक्षर गरेका छन्।

























