
काठमाडौं । गायिका संगीता भण्डारी २२ वर्षपछि पुनः नेपाली सांगीतिक क्षेत्रमा फर्किएकी छिन् । हरितालिका तीजको अवसर पारेर उनको सुमधुर स्वरमा सजिएको मौलिक तीज गीत ‘रानीहार’ सार्वजनिक गरिएको हो ।
लोकप्रिय गीतकार डिपी खनालको शब्द र चर्चित संगीतकार शंकर थापा ‘स्माइल’ को संगीत रहेको यस गीतलाई विषम आचार्यले एरेन्ज गरेका हुन् । तीज मनाउन सुनका महँगा गरगहनाभन्दा पनि मनको खुसी र उमंग नै ठुलो कुरा हो भन्ने सकारात्मक सन्देश गीतले बोकेको छ ।
केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको यस गीतको म्युजिक भिडियोमा यशु भट्टराई, मिलसा वाग्ले र स्वयम् गायिका भण्डारीको आकर्षक अभिनय तथा नृत्य देख्न सकिन्छ । विशाल थापाले छायांकन र दीपक विष्टले सम्पादन गरेको यो भिडियो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
लामो अन्तरालपछि गायनमा फर्किएकी गायिका भण्डारीले भनिन्, ‘प्रतिभा देखाउन उमेरले छेक्दैन, इच्छाशक्ति र आत्मविश्वास भए जुनसुकै बेला पनि काम गर्न सकिन्छ भन्ने विश्वासका साथ म पुनः मैदानमा आएकी हुँ ।’ तीजको पूर्वसन्ध्यामा सार्वजनिक यो गीतले नेपाली नारीहरूको मन जित्ने अपेक्षा गरिएको छ ।



















