
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिकास्थित कप्तानगन्जमा दुई साताअघि भएको हिंसात्मक झडपको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केही युवाहरूलाई नियन्त्रणमा लिएको छ ।
सुनसरी प्रहरीका प्रवक्ता एवं डीएसपी चन्द्र खड्काले घटनाको अनुसन्धानका लागि स्थानीय केही युवाहरूलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको जानकारी दिए । प्रहरीले पक्राउ परेकाहरूको पहिचान र यकिन संख्या भने अहिले नै सार्वजनिक गरेको छैन ।
‘हामीले अनुसन्धानका लागि केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएका हौँ,’ डीएसपी खड्काले भने, ‘अनुसन्धान पूरा भएपछि मात्रै पक्राउ परेकाहरूको विवरण र घटनाबारे आधिकारिक जानकारी सार्वजनिक गर्ने छौँ ।’ उनले प्रहरीले आधिकारिक रूपमा कसैको फोटो वा संख्या बाहिर नल्याएको समेत स्पष्ट पारे ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिका सदस्य दीपेन्द्र मेहताले प्रहरीले चार जना युवाहरूलाई पक्राउ गरेको दाबी गर्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेका छन् ।
तर, प्रहरीले भने सामाजिक सञ्जालमा आएका विवरण र फोटोबारे आफूहरूलाई आधिकारिक जानकारी नभएको बताएको छ । दुई साताअघि कप्तानगन्जमा दुई पक्षबीच भएको विवादले उग्र रूप लिँदा हिंसात्मक घटना भएको थियो । उक्त घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

























