एमाले कार्यदलको प्रतिवेदन: असोजमा प्रतिनिधि परिषद् र विधान महाधिवेशन गर्ने प्रस्ताव

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार १४:१७

काठमाडौं। नेकपा (एमाले) ले गठन गरेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन-२०८३’ ले पार्टी पुनर्गठनको कार्ययोजना कार्यान्वयनका लागि आगामी असोजमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् आयोजना गर्ने प्रस्ताव गरेको छ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित कार्यदलले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनमा पार्टी शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणका लागि उक्त बैठक बोलाउन सुझाइएको हो। परिषद् बैठकबाट पार्टी पुनर्गठनको कार्ययोजना पारित गरी नयाँ सङ्कल्पका साथ पुनर्जागरण अभियानलाई तीव्रता दिने प्रस्ताव गरिएको छ।

Advertisement

साथै, प्रतिनिधि परिषद्को बैठक लगत्तै त्यसलाई विधान महाधिवेशनमा रूपान्तरण गरी विधान संशोधन गर्नेसमेत कार्यदलको योजना छ। सातै प्रदेश, जनसंगठन, केन्द्रीय सम्पर्क समन्वय, प्रवास, केन्द्रीय सल्लाहकार तथा विभिन्न विभागका अगुवा नेता-कार्यकर्तासँग सुझाव लिएर कार्यदलले साउन दोस्रो साता प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदनमा निर्वाचनको परिणामले पार्टी जीवनमा गम्भीर धक्का लागेको निष्कर्ष निकालिएको छ। प्रस्तावित पुनर्गठनको कार्ययोजनालाई प्रभावकारी ढङ्गले अघि बढाउन सके पार्टीलाई वैचारिक, राजनीतिक र साङ्गठनिक रूपमा एकताबद्ध बनाउँदै राष्ट्र निर्माणको निर्णायक शक्तिमा बदल्न सकिने विश्वास व्यक्त गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.