
काठमाडौं । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१ बाट बेपत्ता भएकी ३ वर्षीया बालिका तीन दिनपछि मृत अवस्थामा फेला परेकी छन् । गत साउन ३१ गते बिहानदेखि हराइरहेकी गरिमा चौधरी मंगलबार साँझ घर नजिकैको एक सुनसान घरमा मृत भेटिएकी हुन् ।
साउन ३१ गते बिहान ८ बजे घरैबाट हराएकी बालिकाको खोजी गर्ने क्रममा मंगलबार साँझ उनको शव घरभन्दा करिब ५० मिटरको दुरीमा फेला परेको हो । घटनाको गम्भीरतालाई हेर्दै प्रहरीले तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरेर अनुसन्धान अगाडि बढाएको थियो ।
अनुसन्धान टोलीले बालिकाको शव एक सुनसान घरभित्र नग्न अवस्थामा फेला पारेको र प्रारम्भिक अवस्था हेर्दा बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ । शव भेटिएको घरभित्र बालिकाको भित्रीसहित अन्य लुगा समेत फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ र शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । घटनामा संलग्न हुन सक्ने शंकास्पद व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



















