
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयका आंगिक शिक्षालयमा तीनवर्षे डिप्लोमा तहको इन्जिनियरिङ अध्ययन पूरा गरेका विद्यार्थीले अब विश्वविद्यालयमै बीटेक तहको अध्ययन गर्न पाउने भएका छन्।
विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले आंगिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निकको विद्यार्थी अभिमुखीकरण कार्यक्रममा बोल्दै तीनवर्षे डिप्लोमा इन इन्जिनियरिङ उत्तीर्ण विद्यार्थीका लागि बीटेक (ब्याचलर अफ टेक्नोलोजी इन इन्जिनियरिङ) अध्ययनको व्यवस्था गरिएको जानकारी दिए।
उनका अनुसार विभिन्न विषयमा डिप्लोमा उत्तीर्ण विद्यार्थीलाई लक्षित गरी मनमोहन प्राविधिक विश्वविद्यालयले बीटेक इन्जिनियरिङको पाठ्यक्रम तयार गरिसकेको छ। यसै शैक्षिक सत्रदेखि बीटेकको पढाइ सञ्चालन गर्ने तयारी गरिएको उनले बताए।
चालु शैक्षिक सत्रमा डिप्लोमा इन इन्जिनियरिङ अध्ययनका लागि भर्ना भएका नयाँ विद्यार्थीलाई अभिमुखीकरण गर्दै उपकुलपति पोखरेलले भने, ‘अब आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकबाट उत्तीर्ण विद्यार्थीले थप उच्च शिक्षा अध्ययन गर्न अन्यत्र जानुपर्ने छैन। हामीले नेपालमै पहिलोपटक बीटेकको पाठ्यक्रम तयार गरेर यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्दैछौँ।’
मनमोहन प्राविधिक विश्वविद्यालय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीबीईटी) केन्द्रित विश्वविद्यालय भएकाले आंगिक शिक्षालयमार्फत आत्मनिर्भर जनशक्ति उत्पादनमा जोड दिइरहेको उनले बताए।
मनमोहन स्मृति पोलिटेक्निकका प्राचार्य इन्जिनियर सुदीप अधिकारीले डिप्लोमा इन इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीको पढाइको गुणस्तर कायम गर्न आफूहरू प्रतिबद्ध रहेको बताए। गुणस्तरीय शिक्षाकै कारण मनमोहन पोलिटेक्निक चारपटक देशकै उत्कृष्ट शिक्षालय बन्न सफल भएको उनको दाबी छ।
पोलिटेक्निकबाट डिप्लोमा हासिल गरेका विद्यार्थी नेपालमा मात्र नभई विदेशमा समेत रोजगारीका लागि सक्षम साबित भइरहेको र धेरै विद्यार्थी आफैँ उद्यम सञ्चालन गरेर आत्मनिर्भर बनेको उनले बताए। ‘हाम्रा विद्यार्थी निजी तथा सरकारी क्षेत्रमा देशैभर सफल भएका छन्। यो हाम्रा लागि गर्वको विषय हो,’ अधिकारीले भने।
पोलिटेक्निक प्रशासन प्रमुख जानकी लेखीले विद्यार्थीलाई जागिरका लागि मात्र नभई आफैँ आत्मनिर्भर हुने उद्यमी बनाउन संस्थाले लगानी गर्दै आएको बताइन्। विद्यार्थीलाई स्वागत गर्दै विभागीय प्रमुख सन्दीप दाहालले मनमोहनमा अध्ययन गर्ने विद्यार्थीले अनुशासन र आफ्नो पढाइको गुणस्तरमा ध्यान दिने गरेकाले व्यवहारिक जीवनमा समेत सफलता हासिल गर्न सकेको बताए।
पोलिटेक्निकको सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, आर्किटेक्चर, आईटी र मेकानिकललगायत इन्जिनियरिङ विषय अध्ययन गर्न भर्ना भएका करिब दुई सय नयाँ विद्यार्थीलाई विभागीय प्रमुखहरू युवराज चौधरी, रामकुमार यादव र दीपेन्द्र यादव लगायतले स्वागत गरेका थिए।
मोरङको बूढीगंगा गाउँपालिका–४, हात्तीमुढास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा विश्वविद्यालय संरक्षण समिति सदस्य सत्यनारायण चौधरी, काशीम मियाँ, बलभद्र चौधरी, सेवा आयोगका अध्यक्ष दामोदर थापा, परीक्षा नियन्त्रक भीमप्रसाद काफ्लेलगायत दुहबी, बूढीगंगा र ग्रामथान गाउँपालिकाका शिक्षा अधिकृतहरूको सहभागिता थियो।

























