
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज (बिहीबार) सर्वदलीय बैठक बस्दैछ । भोटेकोशी बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने रास्वपाले जनाएको छ । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा भोटेकोशी बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिको अवस्था, बेपत्ताको खोजी तथा उद्धार, प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने विषय र पुनःस्थापनाका कामका बारेमा छलफल हुनेछ ।
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने, पीडितलाई तत्काल राहत पुर्याउने तथा क्षतिको दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक पहल गर्ने विषयमा दलहरूबीच साझा धारणा बनाउने उद्देश्यले बैठक आयोजना गरिएको रास्वपाले जनाएको छ ।

























