सरकारलाई सुझाव दिँदा कोशीका सचिवको रसुवामा काज, बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको जिम्मा

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार १७:३५
प्रशासक कोषहरि निरौला ।

विराटनगर । विपद्का बेला शव व्यवस्थापनमा हतार गर्न नहुने र मृतक तथा उनका परिवारको धर्म, परम्परा, रीतिरिवाज र संस्कारअनुसार अन्तिम संस्कारको व्यवस्था गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत संघीय सरकारलाई सल्लाह एवं सुझाव दिएका कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोषहरि निरौलालाई बाढी प्रभावित रसुवामा काज सरुवा गरिएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार निरौलालाई रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भएर बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको काम गर्ने जिम्मेवारीसहित काजमा खटाइएको हो । मन्त्रालयले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि हराएका, बेपत्ता तथा मृत्यु भएका व्यक्तिहरूको खोज, उद्धार, राहत तथा शव व्यवस्थापनका लागि गृह प्रशासन र विपद् व्यवस्थापन क्षेत्रमा अनुभव भएका कर्मचारी परिचालन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

Advertisement

सोही आधारमा मन्त्री प्रतिभा रावलको मन्त्रीस्तरीय निर्णयबाट निरौलालाई रसुवा काजमा खटाइएको हो । निरौलालाई टिमुरे क्षेत्रमा केन्द्रित भएर काम गर्न र जिल्ला प्रशासन कार्यालय रसुवालाई सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्न निर्देशन दिइएको छ । उनको तलब, भत्ता तथा अन्य सेवा सुविधा भने हाल कार्यरत कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयबाटै भुक्तानी हुने व्यवस्था गरिएको छ । अर्को व्यवस्था नभएसम्म उनले पाउँदै आएको पारिश्रमिक तथा सुविधा कोशी प्रदेशकै मन्त्रालयबाट उपलब्ध हुनेछ ।

निरौलालाई रसुवा पठाउने निर्णय उनको सामाजिक सञ्जालमा आएको एउटा सुझावसँग जोडिएको देखिन्छ । उनले शनिबार फेसबुकमा बाढीमा भेटिएका शव व्यवस्थापनमा हतार नगर्न आग्रह गर्दै सरकारलाई सुझाव दिएका थिए । चितवनमा पहिचान नखुलेका शव खाल्डो खनेर गाड्न एवं व्यवस्थापन गर्न प्रक्रिया अघि बढाइएपछि उनले आफ्नो विगतको प्रशासनिक अनुभव सुनाउँदै शव व्यवस्थापनमा थप संवेदनशील हुनुपर्ने धारणा राखेका थिए ।

निरौलाले फेसबुक स्टाटसको सुरुमै ‘हतार गरेर चितवनमा लास गाडेको समाचार सुनेपछि एउटा फोकटको सल्लाह दिन मन लाग्यो’ भन्दै आफ्नो धारणा सार्वजनिक गरेका थिए । उनले विपद्का बेला भेटिएका शवलाई तत्काल सामूहिक रूपमा गाड्नेभन्दा मृतकको पहिचान र आफन्तको खोजीलाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।

उनका अनुसार बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्त अझै आफ्ना परिवारका सदस्यको ‘सास वा लास’ खोजिरहेका छन् । यस्तो अवस्थामा पहिचान नखुलेका शवलाई हतारमा गाड्दा आफन्तले आफ्नो परिवारको सदस्य हो वा होइन भनेर पहिचान गर्ने अवसरसमेत गुमाउन सक्ने उनको चिन्ता थियो ।

निरौलाले मृतक तथा उनका परिवारको धर्म, परम्परा, रीतिरिवाज र संस्कारलाई सम्मान गर्दै अन्तिम संस्कारको व्यवस्था गर्नुपर्ने बताएका थिए । मृतक नेपाली मात्र नभई विदेशी नागरिकसमेत हुन सक्ने सम्भावना औँल्याउँदै उनले उनीहरूका परिवार आफन्तको खोजी गर्दै घटनास्थलसम्म आउन सक्ने भएकाले शव व्यवस्थापनमा थप संवेदनशीलता अपनाउनुपर्ने बताएका थिए ।

उनले शव लामो समय राख्दा स्वास्थ्यसम्बन्धी जोखिम उत्पन्न हुन सक्ने विषयलाई पनि बेवास्ता गर्न नहुने सल्लाह र सुझाव दिएका थिए । आवश्यक प्लास्टिक तथा ठूला फ्रिजको व्यवस्था गरेर शवलाई केही समय सुरक्षित राख्न सकिने उनको सुझाव थियो ।

‘लासलाई अन्याय नगरौँ र आफन्तको भावनामा कुठाराघात पनि नगरौँ’ भन्ने उनको आग्रह थियो । मृत्युको क्षतिपूर्ति कसैले गर्न नसक्ने भए पनि मृतकको पहिचान र सम्मानजनक अन्तिम संस्कारले आफन्तले भोगिरहेको पीडा केही हदसम्म कम गर्न सक्ने उनको धारणा थियो ।

निरौलाले आफ्नो सुझावलाई तत्कालीन प्रशासनिक अनुभवसँग पनि जोडेर हेरेका थिए । उनी मोरङको प्रमुख जिल्ला अधिकारी हुँदा कोरोना महामारीका क्रममा शव व्यवस्थापनमा भोगेको अनुभव उनले फेसबुकमा उल्लेख गरेका थिए ।

कोभिड–१९ महामारीका बेला स्वास्थ्य सुरक्षा प्रोटोकलका कारण मृतकको शव आफन्तले छुन वा हेर्नसमेत नपाउने अवस्था रहेको उनले बताएका थिए । त्यसबेला मोरङमा करिब १५ वटा शव त्यही प्रक्रियाबाट व्यवस्थापन गरिएको उनको भनाइ थियो ।

मृतकका परिवारले पीडा व्यक्त गर्न थालेपछि त्यतिबेला शव व्यवस्थापनमा नयाँ उपाय अवलम्बन गरिएको थियो । सम्भव भए दागबत्ती दिन तथा नमिले परबाट भए पनि फूलमाला चढाउन पाउनुपर्ने परिवारको चाहना रहेको निरौलाले स्मरण गरेका थिए ।

त्यसपछि सुरक्षा निकायसँग छलफल गरेर मोरङमा कोभिडबाट मृत्यु भएकाको अन्तिम संस्कारको प्रक्रिया परिवर्तन गरिएको उनले बताएका छन् । नेपाली सेनाले शवलाई घाटमा तयार गरिएको चितासम्म पुर्‍याएर चितामा राखिदिने र आफन्तले चिता नछोई परबाटै फूलमाला चढाउने तथा आगो लगाउन पाउने व्यवस्था गरिएको उनको भनाइ थियो ।

अहिले त्यही अनुभवका आधारमा उनले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनमा हतार नगर्न आग्रह गरेका थिए । आफन्त नभेटिए केही समय पर्खेर त्यसपछि आवश्यक निर्णय लिन सकिने उनको सुझाव थियो ।

भोटेकोशी नदीमा आएको बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता भएका छन् । बाढीमा आफन्त गुमाएका परिवारका सदस्यहरू रसुवादेखि गण्डक ब्यारेजसम्म आफ्ना आफन्तको खोजीमा रहेका बेला पहिचान नखुलेका शव धमाधम व्यवस्थापन गर्न थालिएको विषयले संवेदनशीलता र मानव अधिकारको प्रश्न उठाएको थियो ।

यही विषयमा निरौलाले सामाजिक सञ्जालमा सार्वजनिक गरेको धारणा व्यापक चर्चामा आएको थियो । उनले आफ्नो फेसबुक स्टाटसमा ‘बाढीमा बेपत्ताका आफन्त सास वा लास खोज्दैछन्, शव गाड्न किन हतार ?’ भन्ने प्रश्नसमेत गरेका थिए ।

उनको उक्त स्टाटसपछि सरकारले उनलाई आलोचना वा सुझाव दिने भूमिकामा मात्र नराखी शव व्यवस्थापनकै जिम्मेवारी दिएर बाढी प्रभावित क्षेत्रमा पठाएको हो । अब निरौलाले आफूले सामाजिक सञ्जालमार्फत उठाएका प्रश्न र दिएका सुझावलाई व्यवहारमै कार्यान्वयन गर्ने जिम्मेवारी पाएका छन् ।

निरौलाले भने आफ्नो फेसबुक स्टाटस पछि हटाइसकेका छन् । उनको सुझावकै भोलिपल्ट उनलाई शव व्यवस्थापनको जिम्मेवारीसहित रसुवा काजमा खटाइएपछि प्रशासनिक वृत्तमा यो निर्णयलाई चासोका साथ हेरिएको छ ।

प्रशासकको प्रश्न, ‘बाढीमा बेपत्ताका आफन्त सास वा लास खोज्दैछन्, शव गाड्न किन हतार ?’

तपाइको प्रतिक्रिया
बाढीपीडितका लागि जाजू ग्रुपको ६० लाखको राहत, तीन लाख प्याकेट खाद्य सामग्री पठाइँदै
विपद्को दशक : भूकम्पदेखि बाढीसम्म, नेपालले गुमायो १४ हजारभन्दा बढी नागरिक
कुन जलविद्युत् आयोजनामा कति सम्पर्कविहीन ?
बाढी प्रभावित बोकेको बस दुर्घटनामा ३२ जना घाइते
बाढी प्रभावित बोकेको बस दुर्घटनामा ३२ जना घाइते
बाढीमा ज्यान गुमाउनेको संख्या आठ सय नजिक
बाढी प्रभावितका लागि युएईद्वारा १० मिलियन डलर सहयोगको तयारी
सरकारलाई सुझाव दिँदा कोशीका सचिवको रसुवामा काज, बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको जिम्मा
सप्तकोशीमा निरन्तर बढ्दैछ बहाव, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
विपत्तिको शोकमा पूर्वी पहाडी जिल्लामा रोपाइँ जात्रा स्थगित
विपत्तिको शोकमा पूर्वी पहाडी जिल्लामा रोपाइँ जात्रा स्थगित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×