फोटोः फायलविराटनगर । भोटेकोशी नदीमा आएको जल प्रलयबाट ठूलो जनधनको क्षति भएपछि इलाम, धनकुटालगायत पूर्वी पहाडमा परम्परागत रूपमा मनाइँदै आएको रोपाइँ जात्रा यस वर्ष स्थगित गरिएको छ ।
मल्लकालदेखि मनाइँदै आएको रोपाइँ जात्रामा विशेष गरी मनोरञ्जनात्मक प्रहसन, हास्यव्यङ्ग्य तथा विभिन्न झाँकी प्रस्तुत गर्ने गरिन्छ । तर, देशका विभिन्न क्षेत्रमा बाढी पहिरोबाट ठूलो क्षति भएको र मुलुक शोकमा रहेका बेला मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने भन्दै जात्रा स्थगित गरिएको नेवा देय् दबूले जनाएको छ ।
रोपाइँ जात्रा हरेक वर्ष गाईजात्राको भोलिपल्ट मनाउने गरिन्छ। धान रोपेको शैलीमा रोपाइँ गरेको अभिनय गर्दै बजार परिक्रमा गर्ने यसको मौलिक परम्परा हो ।
नेवारी समुदायले रोपाइँ जात्रामार्फत आफ्नो जातीय मौलिक संस्कृति, परम्परागत भेष भूषा तथा परम्परालाई पछिल्लो पुस्तासम्म हस्तान्तरण गर्दै आएको छ । विगतमा कोभिड–१९ महामारीका कारण पनि जात्रा प्रभावित भएको थियो। अन्य वर्ष भने यो परम्परागत जात्रा धनकुटामा विशेष धूमधामका साथ मनाइँदै आएको छ ।
नेवा: देय् दबू इलामले रोपाइँ जात्रा स्थगित गरेको जनाएको छ। दबू इलाम नगरपालिका–५, बरबोटेले सार्वजनिक सूचना जारी गर्दै देश शोकमा डुबेका कारण यस वर्षको परम्परागत रोपाइँ जात्रा स्थगित गरिएको जनाएको हो ।
इलामका प्रमोद श्रेष्ठले बाढी पहिरोका कारण देशव्यापी शोकको अवस्था रहेकाले यो वर्ष रोपाइँ जात्रा कार्यक्रम आयोजना नगर्ने निर्णय भएको जानकारी दिए । इलामका सदरमुकाम, सूर्योदय नगरपालिकाको फिक्कल, बरबोटे, मंगलबारे लगायत स्थानमा हरेक वर्ष रोपाइँ जात्रा मनाइँदै आएको छ । यो जात्रामा ठूलो संख्यामा मानिसहरू सहभागी हुने गरेका छन् ।

























