प्रशासकको प्रश्न, ‘बाढीमा बेपत्ताका आफन्त सास वा लास खोज्दैछन्, शव गाड्न किन हतार ?’

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार ०८:०५
प्रशासक कोषहरि निरौला ।

विराटनगर । भोटेकोशीको बाढीमा परी मृत्यु भएकाको पहिचान नै नगरी शव गाड्न थालिएपछि प्रशासक एवं कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोषहरि निरौलाले शव व्यवस्थापनमा हतार नगर्न सरकारलाई सुझाव दिएका छन् ।

चितवनस्थित नारायणी नदीमा भेटिएका बेवारिसे शव व्यवस्थापनका लागि देवघाट क्षेत्रको वनभित्र खाडल खनेर शव गाड्ने प्रक्रिया अघि बढाइएको छ । बाढीमा परी बेपत्ता भएकाहरूका आफन्त अझै आफ्ना परिवारका सदस्यको खोजीमा रहेका बेला पहिचान नखुलेका शवलाई गाड्न थालिएपछि यस विषयमा बहससमेत सुरु भएको छ ।

Advertisement

कतिपयले शव सडेर महामारी फैलिन सक्ने जोखिम रहेको भन्दै तत्काल व्यवस्थापन गर्नुपर्ने बताएका छन् । आफन्तलाई पहिचानका लागि पर्याप्त समय नदिई शव गाड्नु मानवीय संवेदनाविपरीत भएको भन्दै विरोध पनि भइरहेको छ ।

यही सन्दर्भमा प्रशासक निरौलाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो विगतको अनुभव सुनाउँदै शव व्यवस्थापनमा संवेदनशील बन्न सरकारलाई आग्रह गरेका हुन् । निरौलाले आफू मोरङको प्रमुख जिल्ला अधिकारी हुँदा कोभिड–१९ (कोरोना) महामारीका समयमा भोगेको अनुभवलाई अहिलेको परिस्थितिसँग जोड्दै शव व्यवस्थापनमा हतार नगर्न सुझाव दिएका छन् ।

कोभिडको समयमा मानिसको मृत्यु अत्यन्त भयावह बनेको स्मरण गर्दै उनले त्यतिबेला मृतकको शवसमेत छुन वा हेर्न नपाइने अवस्था रहेको बताएका छन् । कडा स्वास्थ्य सुरक्षा प्रोटोकलअनुसार शवलाई जंगलमा गाड्नुपर्ने बाध्यता रहेको र आफन्तले मृतकको अनुहारसमेत हेर्न नपाउने अवस्था रहेको उनले उल्लेख गरेका छन् ।

त्यतिबेला मोरङमा करिब १५ वटा शव यसैगरी व्यवस्थापन गरिएको निरौलाले बताएका छन् । सोही क्रममा नेपाल विद्युत् प्राधिकरणमा कार्यरत एक कर्मचारीको कोभिडका कारण मृत्यु भएपछि उनका परिवारलाई भेट्न आफू सुरक्षा निकायका प्रमुखसहित पुगेको र मृतकका बुबाले व्यक्त गरेको पीडा आफूले कहिल्यै नबिर्सने उनले बताए ।

‘मेरो छोरो कोभिडको लक्षण देखिएर हिँड्दै अस्पताल पुगेको थियो । मर्‍यो कि मारियो, कसले भनिदिने ? उसको अनुहार मात्रै देख्न पाएको भए, हामी बितेछ भनेर चित्त बुझाउँथ्यौँ,’ मृतकका बुबाको भनाइ उद्धृत गर्दै निरौलाले लेखेका छन् । त्यतिबेला आफ्नो संस्कारअनुसार अन्तिमपटक मृतकको अनुहार हेर्न, सम्भव भए दागबत्ती दिन र नमिले परबाट भए पनि माला चढाउन पाउनुपर्ने परिवारको चाहना रहेको उनले बताएका छन् ।

परिवारको पीडा सुनेपछि आफूले समेत ‘आफन्त गुमाउने मानिसका लागि यति काम पनि गर्न सक्दिनँ र ?’ भन्दै आफैंलाई प्रश्न गरेको निरौलाले उल्लेख गरेका छन् । प्रोटोकलका नाममा गरिने अन्तिम संस्कार मानवीय संवेदनाको दृष्टिले कति उचित छ भन्ने प्रश्नसमेत त्यतिबेला आफूलाई उठेको उनले बताएका छन् ।

त्यसपछि सुरक्षा निकायको बैठक बसेर मोरङमा कोभिडबाट मृत्यु हुनेको अन्तिम संस्कारसम्बन्धी प्रक्रिया परिवर्तन गरिएको निरौलाले बताए । कोभिडबाट मृत्यु भएकाको अन्तिम संस्कारको जिम्मा नेपाली सेनालाई दिइएको अवस्थामा सेनाले शवलाई घाटमा तयार गरिएको चितासम्म पुर्‍याएर चितामा राखिदिने र आफन्तले चिता नछोई परबाटै फूलमाला चढाउने तथा आगो लगाउन पाउने निर्णय गरिएको प्रशासक निरौलाले स्मरण गरेका छन् ।

त्यसपछि मोरङमा कोभिडबाट मृत्यु भएका सबैको अन्तिम संस्कार यही प्रक्रियाअनुसार गरिएको उनले बताए । उनका अनुसार कोभिड महामारीको अन्त्यसम्म सुनसरीका धेरै घाटमा कोभिडबाट मृत्यु भएकाको शव जलाउनसमेत दिइएको थिएन । त्यसका कारण धरानमा मृत्यु भएकाको शवसमेत मोरङ ल्याएर दाहसंस्कार गरिएको उनले उल्लेख गरेका छन् ।

खोला किनारमा फेला परेका शव व्यवस्थापनका लागि खाल्डो तयार गरिँदै ।

यही अनुभवका आधारमा अहिले बाढीमा बेपत्ता भएकाहरूको शव व्यवस्थापनमा हतार नगर्न निरौलाको आग्रह छ । उनले आफन्त नभेटिए केही महिना पर्खेर त्यसपछि आवश्यक निर्णय लिन सकिने बताए । बाढीमा आफन्त गुमाएका वा बेपत्ता भएका परिवारका सदस्यले रसुवादेखि गण्डक ब्यारेजसम्म आफ्ना आफन्तको सास वा लास खोजिरहेको उल्लेख गर्दै निरौलाले पहिचान र अन्तिम संस्कारका लागि परिवारलाई पर्याप्त अवसर दिनुपर्ने बताएका छन् ।

‘सबैले आफ्नो धर्म, परम्परा, रीतिरिवाज र संस्कारअनुसार अन्तिम संस्कार गर्छन् र गर्न पाउनुपर्छ,’ उनले लेखेका छन् । बाढीमा नेपाली मात्र नभई विदेशी नागरिकसमेत परेको हुनसक्ने भन्दै उनले उनीहरूका परिवार आफ्ना आफन्तको खोजी गर्दै घटनास्थलसम्म आइपुग्न सक्ने बताएका छन् ।

शव लामो समय राख्दा उत्पन्न हुनसक्ने स्वास्थ्य जोखिमलाई पनि बेवास्ता नगरी आवश्यक प्लास्टिक तथा ठूला फ्रिजको व्यवस्था गरेर शव सुरक्षित राख्न सकिने उनको सुझाव छ । ‘लासलाई अन्याय नगरौँ र आफन्तको भावनामा कुठाराघात पनि नगरौँ,’ निरौलाले आग्रह गरेका छन् ।

मृत्युको क्षतिपूर्ति कसैले गर्न नसक्ने भए पनि मृतकको पहिचान र सम्मानजनक अन्तिम संस्कारले आफन्तले भोगिरहेको पीडा केही हदसम्म कम गर्न सक्ने उनको भनाइ छ । बाढीमा बेपत्ता भएकाहरूको खोजी अझै जारी रहेका बेला पहिचान नखुलेका शव धमाधम गाड्न थालिएको विषयमा निरौलाको सुझावले शव व्यवस्थापन, मानवीय संवेदना र आफन्तको अधिकारका बारेमा नयाँ बहस सिर्जना गरेको छ ।

उनले भनेका छन्, ‘बाढीमा बेपत्ताका आफन्त सास वा लास खोज्दैछन्, शव गाड्न किन हतार ?’ निरौलाले अन्त्यमा सबैलाई संवेदनशील बन्न आग्रह गर्दै मृतकको आत्माको चीरशान्तिको कामना गरेका छन् । कोरोना महामारीका बेला मोरङका प्रमुख जिल्ला अधिकारी रहेका निरौला हाल कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×