
काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ठूलो संख्यामा कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा गरी सयौँ जना सम्पर्कविहीन भएका हुन् । इप्पानका अनुसार रसुवामा मात्रै ६ वटा जलविद्युत् आयोजनामा ठूलो संख्यामा कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन् । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सबैभन्दा धेरै ५७६ जना सम्पर्कविहीन भएका छन् । तीमध्ये अहिलेसम्म २५४ जनाको उद्धार गरिएको छ भने करिब ३०० जना अझै सुरुङभित्र फसेको बताइएको छ ।
त्यस्तै, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना सम्पर्कविहीन भएका छन् । २० मेगावाट क्षमताको लाङटाङ खोला आयोजनामा ४२ जना सम्पर्कविहीन भएकोमा १८ जनाको उद्धार गरिएको छ । अझै २५ जना सुरुङभित्र फसेको जानकारी इप्पानले दिएको छ ।
२२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा ८ जना तथा ५ मेगावाट क्षमताको मैलुङ खोला आयोजनामा ७ जना सम्पर्कविहीन छन् । मैलुङ खोलाका सम्पर्कविहीनमध्ये ७ जना नै सुरुङभित्र फसेको बताइएको छ । त्यस्तै, १२० मेगावाट क्षमताको रसुवा–भोटेकोशी आयोजनामा ४ जना सम्पर्कविहीन भएका छन् ।
नुवाकोटमा पनि विभिन्न जलविद्युत् आयोजनामा कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन् । ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा १२२ जना सम्पर्कविहीन भएका छन् । तीमध्ये ११ जनाको उद्धार गरिएको छ ।
त्यस्तै, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा ४२ जना सम्पर्कविहीन भएका छन् । १९.६ मेगावाट क्षमताको मिडल त्रिशूली गंगा .आयोजनामा २ जना तथा २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् आयोजनामा १ जना सम्पर्कविहीन छन् । १४.९ मेगावाट क्षमताको देवीघाट जलविद्युत् आयोजनामा पनि १ जना सम्पर्कविहीन भएको इप्पानले जनाएको छ ।
बाढीका कारण कतिपय आयोजना क्षेत्रमा सडक तथा सञ्चार सम्पर्क विच्छेद भएकाले उद्धारमा समेत कठिनाइ भइरहेको बताइएको छ । सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि विज्ञसहितका सुरक्षाकर्मी परिचालन भइरहेका छन् ।

























