
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज (मंगलबार) बस्ने भएको छ । आगामी १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
कांग्रेसको आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिकसम्बन्धी विवाद टुंग्याउँदै सबै सदस्यलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेको थियो । त्यसैअनुसार निर्वाचन समितिले अधिवेशनको कार्यतालिका परिमार्जन गर्न लागेको हो ।
बैठकमा अधिवेशनको प्राविधिक तयारी, क्रियाशील सदस्यको अन्तिम नामावली व्यवस्थापन तथा यसअघि प्रभावित भएका तल्लो तहका अधिवेशनको नयाँ मिति तय गर्ने विषयमा छलफल हुने समितिले जनाएको छ ।

























