
विराटनगर । रसुवाको भोटेकोशी नदीको बाढीबाट प्रभावित भएकालाई राहत तथा पुनः स्थापनाका लागि विराटनगरको कान्तिपुर कलेजले ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरे कान्तिपुर कलेजले ५ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको हो ।
कान्तिपुर कलेजका शिक्षक, शिक्षिका, कलेज सञ्चालक तथा विद्यार्थीले गरेको सहयोग रकमको चेक हिसानका केन्द्रीय सचिव राजेश कार्कीलाई चेक हस्तान्तरण गरिएको छ । सो अवसरमा हिसानका केन्द्रीय सहकोषाध्यक्ष शंकर भट्टराई, हिसान कोशी प्रदेश सचिव दिपेश वास्तोला, मोरङ हिसानका अध्यक्ष अमित ढकाल र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल विराटनगर महानगर अध्यक्ष अर्जुन श्रेष्ठ, कलेजका पदाधिकारी, शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतमा सहयोग पुर्याउने उद्देश्यले कलेज परिवारले उक्त रकम संकलन गरेको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । उनका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी, शिक्षक, कर्मचारी, निर्देशकसहित कलेज परिवारको सामूहिक सहभागिताबाट सहयोग रकम जुटाइएको हो ।

























