फाइल तस्बिरझापा । झापाको मेचीनगर नगरपालिका–३ तेलपानीस्थित धानबारीमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । स्थानीयवासीले धानखेतमा वयस्क दाह्रे हात्ती मृत अवस्थामा मंगलबार देखेपछि प्रहरी र डिभिजन वन कार्यालयलाई खबर गरेका थिए ।
घटनास्थलमा वन कार्यालयको टोली पठाइएको डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहीवार यादवले बताए ।
हात्तीको मृत्युको कारण खुल्न सकेको छैन । घटनास्थलको निरीक्षण तथा आवश्यक परीक्षणपछि मृत्युको कारणबारे जानकारी हुने वन कार्यालयले जनाएको छ ।
मेचीनगर नगरपालिका–२, ३, ४ र ५ क्षेत्रमा लामो समयदेखि जङ्गली हात्तीले मानवीय क्षति गर्नुका साथै किसानको खेतीबालीमा समेत ठूलो नोक्सानी पुर्याउँदै आएका छन् ।
झापामा मेची नदी पार गरेर भारततर्फका जङ्गलबाट जङ्गली हात्ती आउने गरेका छन् । पछिल्ला वर्षमा स्थानीय जङ्गलमा बस्ने रैथाने हात्तीको सङ्ख्या पनि बढ्दै गएको वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो १६ वर्षमा झापाका विभिन्न क्षेत्रमा २८ वटा जङ्गली हात्ती मृत फेला परेका छन् ।
























