भैँसीको हुलले धकेल्दा मोटरसाइकलसँग ठोक्किएर चार जना घाइते, एक गम्भीर

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज १, बिहीबार ०७:१७

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका–७ स्थित हुलाकी राजमार्गमा भैँसीको हुलले धकेल्दा मोटरसाइकलसँग ठोक्किएर चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जना गम्भीर घाइते भएका छन् ।

बुधबार साँझ ७ बजेतिर देवानगन्ज गाउँपालिका–१ का करिब ६० वर्षीय सुकल पालले भैँसी चराएर घरतर्फ ल्याउने क्रममा भैँसीहरू आपसमा हानाहान गरेका थिए । सोही क्रममा भैँसीको हुलले पाललाई धकेलेपछि चिमडीबाट हरिनगरातर्फ जाँदै गरेको को १–०२–०५६ प २७७४ नम्बरको मोटरसाइकलसँग ठोक्किन पुगे ।

दुर्घटनामा पालको टाउकोको अगाडिको भागमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–४ का करिब ४४ वर्षीय सज्जाद आलमको छाती तथा हातखुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ ।

मोटरसाइकलको पछाडि सवार आलमकी श्रीमती करिब ४० वर्षीया बेचनी खातुनको हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था पनि सामान्य रहेको र बोल्न सक्ने अवस्थामा उपचार भइरहेको छ ।

त्यस्तै, मोटरसाइकलमा सवार आलमकी ९ वर्षीया छोरी आरुफा फात्माको हातखुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको र विराटनगर न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा भैँसीहरू आपसमा हानाहान गर्दा गोठालालाई धकेलेपछि मोटरसाइकलसँग ठोक्किन पुगेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.