
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दैछ । सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा समुद्री जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल हुने भएको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
समुद्री जैविक विविधताको संरक्षण, दिगो उपयोग तथा राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिर रहेका समुद्री क्षेत्रसँग सम्बन्धित उक्त सम्झौतामाथि प्रतिनिधिसभामा छलफल हुन लागेको हो ।
यसैबीच, बिहीबार संघीय संसद्का विभिन्न तीन संसदीय समितिको बैठक पनि बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ ।

























