
काठमाडौं । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालबाहिर प्रसूति गराउन बाध्य भएकी बबिता पासवानको घटनामा छानबिन समितिले ड्युटीमा रहेका स्वास्थ्यकर्मी र अस्पताल प्रशासनमाथि विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।
गत भदौ २५ गते आर्थिक अभावका कारण पासवानले अस्पताल परिसरबाहिर सडक पेटीमा शिशु जन्माएकी थिइन् । घटनाको अध्ययन गरेको समितिले अस्पतालमा पुगेकी गर्भवतीलाई आवश्यक परामर्श, उपचार र निगरानी दिन नसक्नु स्वास्थ्यकर्मी तथा प्रशासनको कमजोरी भएको निष्कर्ष निकालेको हो ।
नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठको संयोजकत्वमा गठित समितिले चिकित्सक, नर्स, प्यारामेडिक्स र अन्य सम्बन्धित कर्मचारीमाथि कारबाही गर्न सिफारिस गरेको छ । समितिले आमा सुरक्षा कार्यक्रमबारे अस्पतालका स्वास्थ्यकर्मीमै पर्याप्त जानकारी नरहेको पनि औँल्याएको छ ।
प्रसूति सेवासँग सम्बन्धित आवश्यक परीक्षणमा शुल्क लाग्ने अवस्थाले आर्थिक रूपमा कमजोर महिलालाई समस्या परेको भन्दै कार्यक्रमअन्तर्गतका सेवा र परीक्षण निःशुल्क हुने व्यवस्था स्पष्ट गर्न सुझाव दिइएको छ ।
घटनामा सेवाग्राही र स्वास्थ्यकर्मीबीचको बुझाइको कमी, गरिबी तथा स्वास्थ्यसम्बन्धी जानकारीको अभावले पनि भूमिका खेलेको समितिको निष्कर्ष छ । यद्यपि, दोष सेवाग्राहीमा मात्र सीमित नगरी अस्पतालको सेवा प्रणाली र प्रशासनिक जिम्मेवारीमाथि समेत प्रश्न उठाइएको छ । समितिले भदौ २५ देखि २७ गतेसम्म स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा बुझाइसकेको छ ।

























