भोटेकोशी बाढी : ५ हजार १४५ जना अझै सम्पर्कविहीन

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २, शुक्रबार ११:२२

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अझै ५ हजार १४५ जना सम्पर्कविहीन छन्। बाढीबाट प्रभावितमध्ये हालसम्म १ हजार ४१० जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार फेला परेका शवमध्ये हालसम्म ११० जनाको मात्र सनाखत भएको छ। सनाखत हुन बाँकी शवको पहिचानका लागि डिएनए परीक्षणलगायत प्रक्रिया अघि बढाइएको छ।

Advertisement

फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३६४ छन्। यस्तै, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९९, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ शव फेला परेको प्राधिकरणले जनाएको छ।

बाढीमा परी मृत्यु भएकामध्ये १ हजार २८६ जना तथा मृतकका आफन्त १ हजार ९४४ जनाको डिएनए नमुना संकलन गरिएको छ। संकलित नमुनाका आधारमा सनाखत हुन बाँकी शवको पहिचान गर्ने काम भइरहेको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७५६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका तथा विस्थापित नागरिकलाई विभिन्न २७ वटा होल्डिङ सेन्टरमा राखिएको छ। तीमध्ये नुवाकोटमा ८३२, रसुवामा ८१७ र धादिङमा ९४ जना रहेका छन्।

बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्नुका साथै आधारभूत आवश्यकता पूरा गर्न राहत तथा व्यवस्थापनको काम जारी छ। सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय खोजी तथा उद्धार, घाइतेको उपचार र राहत व्यवस्थापनमा परिचालित छन्।

बाढीबाट ठूलो मानवीय क्षति भएपछि अझै सम्पर्कविहीन रहेका नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। खोजी तथा उद्धार कार्यलाई थप तीव्र पारिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×