
काठमाडौं । वर्तमान संविधान जारी भएको ११ वर्ष पूरा भएको छ । संविधान जारी भएको दिनको स्मरणमा आज (शनिबार) संविधान तथा राष्ट्रिय दिवस मनाइँदैछ ।
सरकारले २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । दिवसका अवसरमा हरेक वर्ष काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै आएको छ ।
संविधान दिवसका अवसरमा संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र तथा विभिन्न सामाजिक संस्थाले पनि कार्यक्रम आयोजना गर्नेछन् । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत संविधान दिवसका कार्यक्रम हुँदैछन् ।
२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो । त्यस दिन राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए ।
३५ भाग, ३०८ धारा र ९ अनुसूची रहेको नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व र धर्मनिरपेक्षतालगायतका विषयलाई संस्थागत गरेको छ ।
संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने संकल्पसमेत गरेको छ ।



















