सीमान्तकृतलाई केन्द्रमा राखेर संविधान समीक्षा गरौँ : लामिछाने

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज ३, शनिबार ०९:५७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको अबको समीक्षा सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका छन्।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले संविधान जीवन्त दस्तावेज भएकाले राजनीतिक अभ्यास र अनुभवका आधारमा यसको परिमार्जन तथा संशोधन हुन सक्ने बताएका हुन्। ‘संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ,’ उनले भनेका छन्, ‘तर, अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ।’

उनले संविधान अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको पवित्र करार भएको उल्लेख गरेका छन्। तर, आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूरा हुन नसकेको उनको निष्कर्ष छ।

‘लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता तब मात्र सिद्ध हुन्छ, जब यसले परिकल्पना गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक यथार्थ बन्छन्,’ सन्देशमा भनिएको छ। रास्वपाले सामाजिक लोकतन्त्रमार्फत नागरिकको मुहारमा खुसी र समाजमा न्याय स्थापित गर्ने अठोट लिएको पनि लामिछानेले बताएका छन्।

विद्यमान बेथिति र कमजोरी सच्याउँदै लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउने गरी विवेकपूर्ण बहस गर्न संविधान दिवसको दिन उपयुक्त अवसर भएको उनको भनाइ छ। बलियो राज्यका लागि बलिया संस्था आवश्यक पर्ने उल्लेख गर्दै लामिछानेले सबै राजनीतिक शक्ति, राज्यका अंग र आमनागरिकलाई आ–आफ्नो स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकताबद्ध हुन आह्वान गरेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.