
विराटनगर । नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको केही घण्टामै मध्यराति मोरङको पथरीशनिश्चरे नगरपालिका–६ गेलाबारीस्थित दुईवटा घरमा तोडफोड भएको छ । नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि विनोद कार्की र ईश्वर भट्टराईको घरमा शनिबार राति करिब ११ः५० बजेतिर तोडफोड भएको हो ।
प्रहरीका अनुसार ईश्वर भट्टराईको घरको आँगनमा रहेको गेटमा क्षति पुर्याइएको छ भने विनोद कार्कीको घरको झ्यालको सिसा फुटाइएको छ । कार्कीको घरमा रहेका ६ थान प्लास्टिकका कुर्सीसमेत तोडफोड गरिएको प्रहरीले जनाएको छ । कार्कीले भाडामा लिएको गाडीको सिसासमेत फुटाइएको र त्यसपछि चालकले गाडी त्यहाँबाट भगाएको बताइएको छ ।
घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी नायब निरीक्षक (सई) कुमार राईको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । अस्थायी प्रहरी चौकी हसन्दहबाट समेत टोली परिचालन गरी घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा पथरीशनिश्चरे–६ गेलाबारीका अन्दाजी ३३ वर्षीय विशाल खड्का, ३५ वर्षीय निशान कार्की र ४० वर्षीय रोशन मण्डल संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्नहरु फरार रहेकाले खोजी तीव्र पारिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी वीरदत्त पन्तले बताए ।
तोडफोडको वास्तविक कारण भने खुल्न नसकेको उनले बताए । घटनास्थलको अवस्था र स्थानीयसँगको सोधपुछका आधारमा थप अनुसन्धान भइरहेको पन्तको भनाइ छ ।
‘घटनाको जानकारी पाएको केही मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो । तर, घटनामा संलग्नहरु फरार भइसकेका रहेछन् । फरार भएकाको खोजी तीव्र पारेर घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको छ,’ उनले भने ।
घर तोडफोड गरिएकामध्ये विनोद कार्की २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कोशी प्रदेशसभा सदस्यका उम्मेदवार थिए । शनिबार सम्पन्न कांग्रेसको वडा अधिवेशनबाट कार्की र भट्टराई क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । घटना भएका बेला भने दुवै जना घरमा थिएनन् ।
तोडफोडमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको भनिएका विशाल खड्का पनि शनिबारकै वडा अधिवेशनबाट कांग्रेसको वडा सदस्यमा चयन भएका थिए ।
स्थानीयका अनुसार तोडफोडमा संलग्न समूहले विनोदका दाजु बलराम कार्कीमाथि समेत हातपात गरेको थियो । स्थानीय युवा भव्य मग्रातीमाथि पनि आक्रमण भएको र कुटपिटबाट उनी सामान्य घाइते भएको बताइएको छ ।
बलरामका अनुसार करिब २० जनाको समूह घरेलु हतियारसहित राति घरमा आएको थियो । उनका अनुसार उक्त समूहले सुरुमा विनोद कार्की र ईश्वर भट्टराईलाई खोजेको थियो । दुवै जना घरमा नभेटिएपछि तोडफोड सुरु गरेको बलरामले बताए ।
‘पार्टीको वडा अधिवेशनमा कुनै विवाद भएको थिएन । नेतृत्व सर्वसम्मत चयन भएको हो । तर, के कारणले तोडफोड गरियो भन्ने यकिन छैन,’ उनले भने । आक्रमणकारीको समूह मदिरा सेवन गरेर आएको हुन सक्ने उनको आशंका छ ।
उनले आफूलाई समेत उक्त समूहले हातपात गर्न थालेपछि घर पछाडिको बाटो हुँदै भागेर ज्यान जोगाएको बताए । ‘विनोद कार्की र ईश्वर भट्टराईलाई नै लक्षित गरेर आक्रमण गर्ने योजनासहित उक्त समूह आएको थियो । तर, दुवै जना घरमा थिएनन् । घरमै भएको भए जे पनि हुन सक्थ्यो,’ बलाराम भन्छन् ।
स्थानीयका अनुसार कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत पार्टीको वडा अधिवेशन शनिबार सौहार्दपूर्ण रूपमा सम्पन्न भएको थियो । अधिवेशनमा कुनै विवाद नभएको र नेतृत्व सर्वसम्मत चयन भएको उनीहरूको भनाइ छ । तर, अधिवेशन सकिएको केही समयमै मध्यराति घरमा आएर तोडफोड तथा आक्रमण गरिएपछि स्थानीय त्रसित एवं आतंकित भएका छन् ।
प्रहरीले घटनाको कारण, तोडफोडमा संलग्न व्यक्तिको भूमिका तथा अन्य व्यक्तिको सम्भावित संलग्नताका बारेमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ । घटनामा संलग्नलाई पक्राउ गरेर कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

























