
काठमाडौं । बाढी तथा पहिरोका कारण बागमती र कोशी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
नेपाल प्रहरीले आइतबार बिहान ६:३० बजेसम्मको विवरण सार्वजनिक गर्दै रसुवा, नुवाकोट र सङ्खुवासभाका विभिन्न सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ। धादिङका दुई स्थानमा भने एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।
बागमती प्रदेशमा खुक–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डअन्तर्गतको बीपी राजमार्गसमेत बाढी तथा पहिरोबाट प्रभावित भएको प्रहरीले जनाएको छ। रसुवाका मुख्य सडकखण्ड बाढीका कारण प्रभावित भएकाले अर्को सूचना जारी नभएसम्म यातायात पूर्ण रूपमा बन्द रहने जनाइएको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा बाढी तथा पहिरोको जोखिमका कारण टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। विदुर नगरपालिका–१० सिमटारमा बाढीका कारण पासाङ ल्हामु सडकखण्ड भने पूर्ण रूपमा अवरुद्ध छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित ज्वालामुखी र शीतलबजार क्षेत्रमा पहिरोका कारण पृथ्वी राजमार्ग प्रभावित भएको छ। दुवै स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। यस्तै, कोशी प्रदेशको सङ्खुवासभास्थित मकालु गाउँपालिका–४ नेताभीरमा पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने तथा जोखिमयुक्त स्थानमा यातायात व्यवस्थापन गर्ने काम भइरहेको छ।

























