
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बञ्चरेमा सुमो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो काजीमाने–धनकुटा भित्री सडकखण्डमा आइतबार बिहान दुर्घटनामा परेको हो । प्रहरीका अनुसार अनियन्त्रित भएर सुमो सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा छथर जोरपाटी गाउँपालिका–३ की ६० वर्षीया शोकमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सुमो चालक धनकुटा नगरपालिका–९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्रीसहित १० जना घाइते भएका छन् । खत्रीको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
धनकुटा नगरपालिका–४ की ४० वर्षीया धनमाया राईको टाउकोमा चोट लागेको छ भने उनका ७ वर्षीय छोरा न्युहाङ सुब्बाको हातमा चोट लागेको छ । सोही स्थानकी ३३ वर्षीया पुनम लिम्बू सामान्य घाइते भएकी छन् । उनकी २ वर्षीया छोरी आरध्या लिम्बूको मुखमा चोट लागेको प्रहरीले जनाएको छ ।
धनकुटा नगरपालिका–४ कै २६ वर्षीय आइन्द्र लिम्बूको टाउकोमा चोट लागेको छ । धनकुटा नगरपालिका–३ का २७ वर्षीय भवानी लिम्बू र ४७ वर्षीय हेमबहादुर लिम्बू तथा धनकुटा नगरपालिका–४ का ३० वर्षीय अबिन लिम्बू पनि घाइते भएका छन् । छथर जोरपाटी–३ का २१ वर्षीय आशिष लिम्बूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको सुमो सडकबाट निकाल्ने काम भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ‘ब्रेक फेल’ भएर सुमो दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।

























