
काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा समेत पर्न सक्ने मौसमविद्ले बताएका छन् । तर, असोज ८ गतेदेखि देशभर ठूलो वर्षा हुने भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने उनीहरूको भनाइ छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले अण्डमान सागर तथा बंगालको खाडी आसपास न्यून चापीय क्षेत्र विकसित भइरहेको छ । उक्त प्रणाली बलियो बन्दै उत्तर–पश्चिमतर्फ अघि बढिरहेको र असोज ७ गते भारतको दक्षिण ओडिशा तथा उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिक पुग्ने अनुमान गरिएको छ ।
उनका अनुसार असोज ७ देखि १२ गतेसम्म नेपालमा उक्त प्रणालीको प्रभाव पर्न सक्ने सम्भावना छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिएमा विभिन्न क्षेत्रमा वर्षा हुन सक्छ । तर, कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने विषयमा अहिले नै ठोस पूर्वानुमान गर्न नसकिने उनले बताए ।
मौसमविद् लामिछानेले केही दिनअघि धेरै वर्षा भइसकेकाले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा थप वर्षा भए अवस्था जटिल बन्न सक्ने भन्दै पूर्वसतर्कता अपनाउन आग्रह गरेका छन् । उद्धार तथा राहतमा समेत वर्षाले बाधा पुर्याउन सक्ने उनको भनाइ छ । धान काट्ने र भित्र्याउने समय भएकाले किसानले पनि सम्भावित क्षतिबाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्ने उनले बताए ।

























