
काठमाडौं। रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकुस्थित त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङबाट निकालिएका २४ शव अझै सनाखत हुन सकेका छैनन्। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि सुरुङमा पुरिएका शव खोजी तथा उद्धारका क्रममा निकालिएका हुन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार असोज १ र २ गते गरी आयोजनाको सुरुङबाट २४ वटा शव निकालिएको हो। २१६ मेगावाट क्षमताको त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङबाट निकालिएका शवलाई असोज ३ गते नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोट ल्याइएको थियो।
शवहरू विदुर नगरपालिका–६ स्थित केन्द्रीय कारागार कार्यालय, खम्बाक्याम्प परिसरमा राखिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीले बाढीपछि लामो समयदेखि सम्पर्कविहीन रहेका आफन्तको शव हुन सक्ने भएकाले परिवारजनलाई खम्बाक्याम्पमा पुगेर सनाखत गर्न आग्रह गरिएको बताए।
उनका अनुसार शवको पहिचान तथा सनाखतका लागि आवश्यक समन्वय र सहयोग प्रहरीले गरिरहेको छ। शवको सनाखत तथा आवश्यक समन्वयका लागि प्रहरी निरीक्षक आशिष साहलाई ९८५५०९१७५७ मा सम्पर्क गर्न सकिने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।



















