
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भरत दाहालको पक्राउप्रति आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै डा. कोइरालाले सरकार नीति र नियमभन्दा बाहिर गएर चल्न थाले लोकतन्त्र नै खतरामा पर्ने बताएका छन्।
‘जब सरकार नीति र नियमभन्दा बाहिरबाट चल्न थाल्छ, तब त्यो स्वेच्छाचारी हुन थाल्दछ। भरत दाहालको पक्राउ त्यसको पछिल्लो उदाहरण हो,’ उनले भनेका छन्। पछिल्लो समय सरकारले देखाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनले ‘हामी कस्तो समाज निर्माण गर्दैछौँ?’ भन्ने प्रश्नसमेत गरेका छन्।
दाहाललाई तत्काल रिहा गर्न माग गर्दै कोइरालाले यस्ता ‘लोकतन्त्रविरोधी क्रियाकलाप’ आगामी दिनमा नदोहोर्याउने प्रतिबद्धता जनाउन सरकारसँग आग्रह गरेका छन्। लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्न सरकार सचेत हुनुपर्नेमा उनले जोड दिएका छन्।



















