कोशीको कटानले बर्सेनि घट्दैछ श्रीलंका टप्पुको जमिन

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ५, सोमबार २१:०१

सुनसरी । चार दशकदेखि सुनसरीको बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुमा बस्दै आएका बुद्धिमान माझीको अहिले आफ्नै नाममा जमिन छैन। सप्तकोशीको बाढी र निरन्तरको कटानले उनको पाँच–सात बिघा जमिन बगाइसकेको छ।

‘कति बेला कोशी आउँछ र बगाउँछ भन्ने टुङ्गो हुँदैन। बेलुका सुत्न पनि डर लाग्छ,’ माझीले भने, ‘असारदेखि नै कटान सुरु भयो। पानी परेका बेला राति उठेर नदीमा बाढी आयो कि भनेर हेर्न जानुपर्छ।’

Advertisement

माझीको जस्तै समस्या श्रीलंका टप्पु र आसपासका बस्तीका धेरै परिवारको छ। हरेक बर्खामा सप्तकोशीको बहाव बढेसँगै बाढी र कटानको जोखिम बढ्छ। खेतीयोग्य जमिन बग्दै गएपछि कतिपय परिवार विस्थापित भएका छन् भने केही सुरक्षित स्थानतर्फ सर्ने तयारीमा छन्।

बराहक्षेत्र–६ का पदम राईका अनुसार उनीहरू श्रीलंका टप्पुमा बसाइँ सर्दा कोशी बस्तीभन्दा निकै टाढा बग्थ्यो। ‘अहिले नदी बस्ती नजिकै आइपुगेको छ,’ उनले भने। राईको एक बिघा जमिनमा धान र मकै खेतीसँगै गाईभैँसी पालन हुँदै आएको छ। तर तीन महिनादेखि नै कटान तीव्र भएपछि स्थानीयवासी सुरक्षा निकायसँग मिलेर बालुवा र सिमेन्टका बोरा राख्दै अस्थायी तटबन्ध निर्माण गरिरहेका छन्।

सप्तकोशी कटान नियन्त्रण समितिका अध्यक्ष जयकुमार माझीका अनुसार कटान नियन्त्रणका लागि बनाइएका करिब १८ स्परमध्ये नौ वटा पूर्ण रूपमा क्षतिग्रस्त भइसकेका छन्। बाँकी संरचना पनि जोखिममा छन्। उनका अनुसार चिलिया टप्पु र श्रीलङ्का टप्पुका बस्तीमा जोखिम वर्षेनी बढिरहेको छ।

यस वर्ष चिलिया र गरैया क्षेत्रमा नदीले तीव्र कटान थालेपछि करिब ६०० घरपरिवार उच्च जोखिममा छन्। केही दिनअघि २२ परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो भने केही परिवार अझै चौरमा टहरा बनाएर बसिरहेका छन्। कटानले स्थानीयको जीविकोपार्जनसमेत प्रभावित भएको छ। बराहक्षेत्र–६ का राकेशकुमार महतोको करिब चार बिघा जमिन कोशीले बगाएपछि अहिले उनी अरूको जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन्।

‘पहिला चार बिघा जग्गा थियो। सबै कोशीले लग्यो। अहिले आफ्नो जग्गा छैन,’ उनले भने, ‘बसिरहेको यो सानो घर पनि कुन दिन कोशीले बगाएर लैजाला भन्ने डर छ।’ बराहक्षेत्र नगरपालिकाले कटान नियन्त्रणका लागि जेसिबी, ट्याक्टर, जाली, बोरा, सिमेन्टलगायत सामग्री उपलब्ध गराएर स्थानीय र सुरक्षा निकायसँगको समन्वयमा काम गरिरहेको जनाएको छ। कटानबाट विस्थापित परिवारलाई नगरपालिकाले तत्कालका लागि प्रतिपरिवार १० हजार रुपैयाँसमेत उपलब्ध गराएको छ।

नगरप्रमुख रमेश कार्कीका अनुसार कोशी कटान स्थानीय तहको सीमित स्रोतसाधनले मात्र समाधान गर्न सकिने विषय होइन। ‘कोशीको कटान यहाँको मात्र समस्या नभई राष्ट्रिय सरोकारको विषय हो,’ उनले भने, ‘वैज्ञानिक अध्ययनका आधारमा ड्याम, स्परलगायत दीर्घकालीन संरचना निर्माण गर्न आवश्यक छ।’

उदयपुरको बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीले पनि तल्लोतटीय क्षेत्रमा नदीको धार पश्चिमतर्फ मोडिँदै गएकाले जोखिम बढेको बताए। लगातारको कटानका कारण श्रीलङ्का टप्पुका केही परिवार प्रकाशपुर र झापातर्फ बसाइँ सरिसकेका छन्। करिब तीन हजार जनसङ्ख्या रहेको यस क्षेत्रमा अधिकांश परिवार कृषि तथा पशुपालनमा निर्भर छन्।

बर्खा हरेक वर्ष आउँछ, कोशीको बहाव बढ्छ र स्थानीयको त्रास पनि दोहोरिन्छ। अस्थायी तटबन्ध र श्रमदानले तत्काल केही राहत दिए पनि नदीले बर्सेनि बगाउँदै लगेको जमिन र विस्थापित हुँदै गएका परिवारका लागि दीर्घकालीन समाधान अझै टाढै छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×