त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार १३:२१

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा मृत्यु भएका चालक मकवानपुरका अर्जुन दोङ तामाङ रहेको खुलेको छ ।

काठमाडौंका प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका तामाङको आगलागीमा परेर मृत्यु भएको हो । घटनापछि शव तथा घटनासँग सम्बन्धित विवरणको अनुसन्धान गर्ने क्रममा उनको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार अर्जुनले भने आफ्नो वास्तविक परिचयभन्दा फरक व्यक्तिको नाममा जारी भएका कागजात प्रयोग गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । त्रिपुरेश्वर घटनामा उनले दावा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको एसएसपी घिमिरेले बताए ।

अनुसन्धानका क्रममा अर्जुनले दावा लामाको नाममा रहेको बैंक खाता र नागरिकता समेत प्रयोग गरेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले अर्जुन यसअघि पनि विभिन्न घटनामा संलग्न रहेको र त्यस्ता घटनामा फरक व्यक्तिको परिचय प्रयोग गरेको हुन सक्ने जनाएको छ ।

२०८२ साल कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा समेत उनी संलग्न रहेको प्रहरीको भनाइ छ । उक्त घटनापछि उनी फरार रहेको र त्यसबेला सुनील तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको खुलेको एसएसपी घिमिरेले बताए ।

त्यस्तै, करिब तीन महिनाअघि मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा पनि अर्जुनले दावा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ । अर्जुनले अन्य व्यक्तिका नाममा जारी भएका परिचयपत्र तथा सरकारी कागजातसमेत प्रयोग गरेको हुन सक्ने आशंका गर्दै प्रहरीले त्यसका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×