
धनकुटा । धनकुटा नगरपालिकाले निबुवा–तांखुवा जलाधार क्षेत्रमा सञ्चालन गरेको सहभागितामूलक जलाधार सुशासन अभ्यासका लागि अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय सहभागितामूलक लोकतन्त्र पर्यवेक्षण संस्था ओआईडीपीले प्रदान गर्ने २०औँ ओआईडीपी अवार्डअन्तर्गत नागरिक सहभागितामा सर्वोत्कृष्ट अभ्यासको ‘पारिस्थितिकीय रूपान्तरण र वातावरण’ विधामा धनकुटा नगरपालिकालाई विशेष सम्मान प्रदान गरिएको हो।
पोल्याण्डको क्राकोभस्थित आईसीई क्राकोभ कंग्रेस सेन्टरमा मंगलबार आयोजित अवार्ड समारोहमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले नगरपालिकाको तर्फबाट सम्मान ग्रहण गरे। निबुवा–तांखुवा जलाधार व्यवस्थापनमा स्थानीय समुदायको ज्ञान, अनुभव र सहभागितालाई वैज्ञानिक तथा प्राविधिक ज्ञानसँग जोडेर जलस्रोत संरक्षण, भूमि व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम न्यूनीकरण तथा स्थानीय संस्थागत सहकार्यलाई अघि बढाइएको नगरपालिकाले जनाएको छ।
यो कार्यक्रम आर्थिक वर्ष २०७७/७८ देखि धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकामा इसिमोडको सहयोग तथा विभिन्न साझेदार संस्थाको समन्वयमा सञ्चालन हुँदै आएको धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिए।
ओआईडीपी अवार्डका लागि विश्वका ४१ देशका स्थानीय तथा क्षेत्रीय सरकारबाट १७६ वटा प्रस्ताव दर्ता भएका थिए। तीमध्ये ४० वटा अभ्यास अन्तिम चरणका लागि छनोट भएका थिए। धनकुटा नगरपालिकाको अभ्यासलाई वातावरण तथा पर्यावरणीय संक्रमणसम्बन्धी विधामा उत्कृष्ट अभ्यासका रूपमा सम्मान गरिएको हो।
सम्मान ग्रहण गर्दै नगर प्रमुख तामाङले यो सम्मान धनकुटा नगरपालिकाको मात्र नभई निबुवा–तांखुवा क्षेत्रका समुदाय, जलाधार संरक्षणमा सहभागी स्थानीय नागरिक तथा सरोकारवाला निकायको योगदानको सम्मान भएको बताए। जलवायु तथा वातावरणीय चुनौती समाधानका लागि स्थानीय समुदायलाई योजनाको लाभग्राहीका रूपमा मात्र नभई निर्णय, योजना निर्माण र कार्यान्वयनका सक्रिय साझेदार बनाउनुपर्नेमा जोड दिए।
धनकुटा नगरपालिकाले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय मान्यताले स्थानीय सहभागिता, वातावरण संरक्षण र जलवायु उत्थानशीलतामा आधारित स्थानीय शासन अभ्यासलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको नगरपालिकाले जनाएको छ। यस वर्षको अवार्ड समारोहमा विभिन्न महादेशका नगर तथा स्थानीय सरकारका अभ्यासलाई विभिन्न विधामा सम्मान गरिएको थियो। आयोजकका अनुसार कार्यक्रमको उद्देश्य स्थानीय लोकतन्त्र र नागरिक सहभागिताका नवीन अभ्यासको अन्तर्राष्ट्रियस्तरमा आदानप्रदान तथा प्रवर्द्धन गर्नु हो।



















