
विराटनगर । विराटनगर महानगरपालिका–३ बरगाछीमा ५१ वर्षपछि प्रहरी चौकीको आफ्नै भवन निर्माण हुने भएको छ । बुधबार भवनको सिलान्यास गरिएसँगै लामो समयदेखि जग्गा विवादका कारण रोकिएको भवन निर्माण प्रक्रिया अघि बढेको हो ।
एक कार्यक्रमका बीच मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बरगाछी प्रहरी चौकीको भवन सिलान्यास गरेका हुन् । एसपी कटवाल मोरङ प्रहरी प्रमुख भएर आएदेखि नै बरगाछीमा प्रहरी चौकीको आफ्नै भवन निर्माणका लागि सक्रिय थिए । उनकै पहलमा भवन निर्माण प्रक्रिया अघि बढाइएको हो ।
आफ्नै भवन नहुँदा बरगाछी प्रहरी चौकीको काम कारबाही बरगाछीबाट करिब ३ किलोमिटर उत्तर नेपाल आयल निगमनजिकै भाडाको घरबाट सञ्चालन हुँदै आएको छ । लामो समयदेखि भाडाको घरबाट प्रहरी चौकी सञ्चालन हुँदै आएकाले आफ्नै भवन निर्माणको प्रक्रिया अघि बढाइएको एसपी कटवालले बताए ।
नेपाली कांग्रेस विराटनगरका सभापति दीपक चापागाईंको अध्यक्षतामा प्रहरी चौकी भवन निर्माण समिति गठन गरिएको छ । चापागाईंको अध्यक्षतामा आयोजित भवन सिलान्यास कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली थिए ।

पूर्वमन्त्री पराजुलीले शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई भौतिक पूर्वाधारका हिसाबले सम्पन्न बनाउनुपर्ने बताए । उनले प्रहरी चौकीको भवन निर्माणमा सहयोग गर्न सबैलाई आह्वान गरेका छन् । निर्माण समितिका अध्यक्ष चापागाईंले प्रहरी चौकीको भवन निर्माण कार्यलाई तदारुकतासाथ अघि बढाइने बताए ।
सिलान्यास कार्यक्रममा भवन निर्माण समितिका उपाध्यक्ष एवं नेपाल प्रहरीका पूर्वडीएसपी रामकुमार श्रेष्ठ, सचिव एवं पूर्वएसपी विद्यानन्द माझी, कोषाध्यक्ष मीना जोशीसहित निर्माण समितिका पदाधिकारी, जनप्रतिनिधि र स्थानीयको उपस्थिति थियो ।

निर्माण समितिका सचिव एवं नेपाल प्रहरीका पूर्वएसपी विद्यानन्द माझीका अनुसार बरगाछी प्रहरी चौकीको भवन निर्माणका लागि बुद्ध माझी मुखिया र लटाइ माझी मुखियाले ५१ वर्षअघि नै जग्गा प्रदान गरेका थिए । बरगाछी चोकमा प्रहरी कार्यालय हुनुपर्ने भन्दै उनीहरुले प्रहरी चौकीका लागि जग्गा उपलब्ध गराएका थिए ।
तर, सो जग्गामा मोही कायम भएपछि लामो समयसम्म विवाद रहँदा भवन निर्माण अघि बढ्न सकेको थिएन । उक्त विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो । माझीका अनुसार अहिले भने जग्गासम्बन्धी सबै विवाद अदालतबाट निरुपण भइसकेका छन् ।
जग्गाको अगाडि रहेको टिनको दुई तले घरका कारणसमेत विवाद रहेको थियो । अदालतले उक्त घर मुक्ति चापागाईंको नाममा कायम गरेपछि विवाद उत्पन्न भएको थियो । माझीका अनुसार अन्तिम विवादका रुपमा रहेको त्यही घर अहिले भवन निर्माण समितिका अध्यक्ष दीपक चापागाईंका बुवाको नाममा कायम भएको छ ।
त्यसपछि घर दीपक चापागाईंले बरगाछी प्रहरी चौकीलाई हस्तान्तरण गरिसकेका छन् । घर प्रहरी चौकीलाई हस्तान्तरण भएपछि जग्गासम्बन्धी विवाद पनि साम्य भएको निर्माण समितिका सचिव माझीले बताए । ‘सबै विवाद सकिएपछि सिलान्यास गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो,’ उनले भने ।

माझीका अनुसार बरगाछी प्रहरी चौकीको भवन कोशी प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको हो । भवन निर्माणका लागि प्रदेश सरकारले गर्ने सहयोगको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी उनले दिए ।
भवन निर्माणमा स्थानीय, उद्योगी, व्यापारी तथा समाजसेवीबाट समेत सहयोग जुटाइने माझीले बताए । करिब २ कट्ठा जग्गामा प्रहरी चौकीको भवन निर्माण हुन लागेको हो ।
५१ वर्षअघि प्रहरी चौकीका लागि उपलब्ध गराइएको जग्गा, लामो समयसम्म चलेको विवाद, अदालतमा विचाराधीन मुद्दा र भाडाको घरबाट सञ्चालन हुँदै आएको प्रहरी चौकीको अवस्थाबीच अब आफ्नै भवन निर्माणको बाटो खुलेको छ ।

























