
काठमाडौं । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि १२ असोजसम्म टाढा तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
महासंघले विज्ञप्ति जारी गर्दै यातायात सेवा सञ्चालन गर्नुअघि बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आफ्ना सदस्य तथा व्यवसायीलाई आग्रह गरेको हो। अत्यावश्यक कामबाहेक टाढाको यात्रा नगर्न र रातिको समयमा समेत यात्रा नगर्न महासंघले सर्वसाधारणलाई अनुरोध गरेको छ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सरोकारवालालाई प्रतिकूल मौसमका कारण सम्भावित जोखिमलाई ध्यान दिँदै यात्रा नगर्न आग्रह गरिसकेको थियो। सोहीअनुसार यातायात सेवा सञ्चालन गर्न महासंघले आफ्ना सदस्यलाई सचेत गराएको जनाएको छ।
यस साता देशका विभिन्न क्षेत्रमा अविरल वर्षाको सम्भावना रहेकाले सडकमा बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै सरकारले समेत सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

























