बाढी प्रभावित क्षेत्रको झोलुंगे पुल पुनर्निर्माणपछि सञ्चालनमा

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार १७:३८

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट क्षतिग्रस्त नुवाकोटको बेलकोटगढीस्थित पिमलटार–जागाराम झोलुंगे पुल पुनर्निर्माण सम्पन्न भएको छ। पुनर्निर्माणपछि सरकारले पुलबाट आवतजावत पूर्णरूपमा सञ्चालनमा ल्याएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बाढीका कारण पुलका लठ्ठा बटारिनुका साथै ह्यान्ड रेल केबल, स्टिल डेक र बिममा क्षति पुगेको थियो। ती बटारिएका लठ्ठा सोझ्याउने, ह्यान्ड रेल केबल फेर्ने तथा स्टिल डेक र बिम जडान गर्ने काम सम्पन्न गरी बुधबार पुलमा जाली राख्ने कामसमेत पूरा गरिएको सचिवालयले जनाएको छ।

Advertisement

भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोले नुवाकोट, रसुवा र धादिङका सडक तथा पुलसहितका पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीका कारण कतिपय झोलुङ्गे पुल क्षतिग्रस्त हुँदा स्थानीय बासिन्दाको आवतजावत प्रभावित भएको थियो।

सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा मर्मतलाई तीव्रता दिएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागले धादिङ, नुवाकोट र गोरखामा क्षतिग्रस्त अन्य १२ वटा झोलुङ्गे पुलको मर्मतसमेत अन्तिम चरणमा पुर्‍याएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×