मधेशमा लाइसेन्सको छपाइ र वितरण सुरु

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार १८:१५

जनकपुरधाम । मधेश प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणको काम प्रदेशस्तरबाटै सुरु भएको छ । प्रदेश सरकारले पहिलो चरणमा छपाइ भएका ३ हजार ८१ वटा स्मार्ट कार्ड सम्बन्धित जिल्लाका यातायात व्यवस्था कार्यालयमार्फत सेवाग्राहीलाई वितरण गर्ने प्रक्रिया अघि बढाएको हो ।

श्रम तथा यातायात मन्त्रालयले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरी यातायात व्यवस्था कार्यालयका प्रमुखलाई स्मार्ट कार्ड हस्तान्तरण गरेको छ । श्रम तथा यातायात मन्त्री शारदा देवी थापाले विभिन्न जिल्लाका कार्यालय प्रमुखलाई पहिलो चरणमा छपाइ भएका लाइसेन्स हस्तान्तरण गरेकी हुन् ।

Advertisement

मन्त्रालयका अनुसार राजविराजका लागि ५२, सिरहाका लागि ४६०, महोत्तरीका लागि ३०३, धनुषाका लागि ९३२, सर्लाहीका लागि ३२, रौतहटका लागि ११९, बाराका लागि ११ र पर्साका लागि १ हजार १७२ वटा स्मार्ट कार्ड हस्तान्तरण गरिएको छ । मधेश प्रदेशले आफ्नै स्तरबाट स्मार्ट कार्ड छपाइ गरी वितरण थालेको यो पहिलो हो ।

सातवटै प्रदेशमध्ये मधेशले पहिलोपटक प्रदेशबाटै स्मार्ट कार्ड छपाइ र वितरण सुरु गरेको भन्दै मन्त्री थापाले यसलाई महत्वपूर्ण सुरुवातका रूपमा लिइन् । उनका अनुसार अब सवारी चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेको केही दिनमै सम्बन्धित यातायात कार्यालयले स्मार्ट कार्ड स्थानीय तहमा पठाउनेछ ।

त्यसपछि सेवाग्राहीले आफूले सेवा लिएको स्थानभन्दा टाढा रहेको यातायात कार्यालय धाउनुपर्ने अवस्था नरहने र आफ्नै पालिकाबाट लाइसेन्स लिन सक्ने व्यवस्था मिलाइएको छ । मन्त्री थापाले प्रदेश सरकारले सेवाग्राहीको सहजतालाई प्राथमिकतामा राखेर लाइसेन्स वितरण प्रणालीलाई सरल बनाउन थालेको बताइन् ।

लामो समयसम्म यातायात कार्यालयमा लाइन बस्नुपर्ने र परीक्षा उत्तीर्ण गरेपछि पनि वर्षौंसम्म स्मार्ट कार्डका लागि पर्खिनुपर्ने समस्या अन्त्य गर्ने उद्देश्यले नयाँ व्यवस्था अघि बढाइएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×