
विराटनगर । बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ अघि बढिरहेको छ । बंगालको खाडीको प्रभावसँगै नेपालतर्फ सरिरहेको शक्तिशाली मौसम प्रणाली सक्रिय बनेको हो ।
नेपालमा मनसुनी गतिविधि थप सक्रिय भएसँगै कोशीसहितका तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना देखिएको छ । न्यून चापीय क्षेत्रको प्रभावले विशेषगरी पूर्वी नेपालमा आज (बिहीबार) बिहानैदेखि वर्षा भइरहेको छ । बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गहिरो न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै उत्तर–पश्चिम दिशातर्फ सर्ने क्रममा छ । हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ ।
महाशाखाले बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने धेरै भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान छ ।
कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि केही स्थानमा यस्तै मौसम रहने अनुमान गरिएको छ ।
तराई क्षेत्रमा पनि वर्षाको सम्भावना कायमै छ । कोशी तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । सुदूरपश्चिमको तराई क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।
यस्तै, राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा भने केही स्थानमा यस्तै मौसम देखिन सक्ने महाशाखाले जनाएको छ ।
वर्षाको मात्रा बढेसँगै गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिमसमेत बढ्न सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात र उद्धार तथा राहतका काम प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन भनिएको छ ।
महाशाखाले मौसममा हुने परिवर्तनका बारेमा जानकारी लिन नियमित रूपमा पछिल्ला मौसमसम्बन्धी सूचना हेर्नसमेत सर्वसाधारणलाई आग्रह गरेको छ । धेरै भारी वर्षाले विपद् निम्त्याउने भन्दै सरकारले पनि आवश्यक पूर्वतयारी गरिरहेको छ ।

























